मिस माल्टा चेरिस स्पिटेरी नेपाल भ्रमणका लागि सोमबार बिहान काठमाडौँ ओर्लिएकी छन् । द हिडन ट्रेजरको निमन्त्रणामा उनीसहितको पाँच जना सदस्यीय टोली टर्किस एयरलाइन्सको विमानबाट सोमबार बिहान नेपाल भ्रमणका लागि आएको हो ।
एकसाता लामो भ्रमणका लागि उनीहरुलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन बोर्डका सदस्य र कर्मचारीले स्वागत गरे । बोर्डको आधिकारिक फेसबुक पेजमा स्वागत गरेका तस्बिरहरु राखिएको छ ।
पञ्चैबाजासहित ढाकाटोपी लगाएर उनीहरुको स्वागत गरिएको थियो । आगामी शनिबार आयोजना हुने मिस नेपालको ग्रान्ड फिनालेमा यो टिम सहभागी हुनेछन् ।
त्यसअघि मिस माल्टा टिमको काठमाडौं र चितवनका पर्यटकीय क्षेत्रमा भ्रमण गर्ने कार्यक्रम तय छ । साउन २२ गते मिस माल्टाको टोली स्वदेश फर्किनेछन् ।