नवलपरासीमा सुतेकै अवस्थामा २० वर्षीय युवकको हत्या

नवलपरासीमा एक युवकको सुतिरहेकै अवस्थामा हत्या भएको छ । पाल्हीनन्दन गाउँपालिका–५ हर्दी बस्ने २० वर्षीय सूर्य कुमार भनिने रोशन कुमार बढईको धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले बताए ।

आफ्नै घरमा सुतिरहेका बढईको घाँटी रेटेर हत्या गरिएको डीएसपी बोहराले बताए । बढई आफ्ना भाइसँगै कोठामा सुतेका थिए । ढोका खुला राखेर सुतेका बढईको हत्याको समयमा भाइले थाहा नपाएको बताइएको छ ।

घ्यारघ्यार आवाज सुनेपछि सँगै सुतेका भाइले अर्को कोठामा सुतेका परिवारलाई खबर गरेका थिए । घरमा हजुरबुबा, हजुरआमा र मृतककी आमा थिइन् । परिवारजनले बत्ती बालेर हेर्दा घाँटी काटेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनको केही बेरमै घरमै मृत्यु भएको बताइएको छ । बिहान ५ बजे खबर गरेका कारण हत्या ४ देखि साढे ४ बजेको बीचमा भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

सूर्यकुमारको शव पृथ्वी चन्द्र अस्पताल परासीमा पठाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न व्यक्ति अझै पत्ता नलागेको र खोजी कार्य भइरहेको डीएसपी बोहराले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार