चौताराका सबइन्जिनियरसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोकको चौतारास्थित पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर हिराबाबु थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ग्रामीण सडकको स्तरोन्नति गर्ने क्रममा उनीहरूले ८० हजार रुपैयाँ घुस लिएको दाबीसहित अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले थापासहित सुपरभाइजर नहकुल शिवाकोटी र सुम्बा शेर्पाविरुद्ध रिट दायर गरेको हो ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा विगुगाउँपालिका–३ स्थित लाकुरीडाँडा–पिपल डाँडा ग्रामीण सडकको स्तरोन्नति गर्न पूर्वाधार विकास कार्यालय चौतारासँग ठेक्का सम्झौता गरिएको थियो । योजनाको काम सम्पन्न गरी भुक्तानी लिने क्रममा सेवाग्राहीसँग पूर्वाधार विकास कार्यालय चौताराका सबइन्जिनियर थापाले कमिसनबापत ८० हजार रुपैयाँ मागेको उजुरी अख्तियारमा परेको थियो ।

थापाले उक्त रकम कार्यालयका सुपरभाइजर शिवाकोटी र शेर्पालाई लिन लगाएको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

अनुसन्धान हुँदा केही दिनअघि अख्तियारको टोलीले शिवाकोटी र शेर्पालाई ८० हजार घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार