गीतको आलोचना भएपछि शान्तिश्री परियारले मागिन् माफी

गायिका शान्तिश्री परियारले आफूले गाएको गीतले दर्शकको मनमा ठेस पुगेको भन्दै माफी मागेकी छन् । उनले गाएका केही गीतको चौतर्फी आलोचना भएपछि उनले माफी मागेकी हुन् । 

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य समेत रहेकी उनले संस्था र दर्शक दुवैको हितविपरीत रहेको भन्दै विज्ञप्ति जारी गर्दै माफी मागेकी हुन् । 

‘विस्ताराले पोल्यो’ गीत गाएर आफूले गल्ती गरेको उनले स्वीकार गरेकी छन्  । गीतको भिडियोको केही दृष्यांशहरूको कारण दर्शक, स्रोताको मनोभावना तथा सामाजिक परिप्रेक्षमा नकारात्मक असर परेको उनले बताएकी छन् ।

बुधबार वक्तव्य जारी गर्दै उनले भनेकी छन्– ‘सो गीत तीज विशेष, लोक वा दोहोरी कुनै पनि विधा अन्तर्गतको नभएता पनि भिडिओको केही दृश्यहरूको कारण दर्शक, स्रोताको मनोभावना तथा सामाजिक परिपे्रक्षमा नकारात्मक असर परेको र सोही कारण सामाजिक सञ्जालहरूमा धेरै नकारात्मक टिकाटिप्पणी भइरहेको हुँदा म लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय सदस्यको नाताले मसँग सम्बन्धित गीतले प्रतिष्ठानको प्रतिष्ठामाथि र आदरणीय शुभचिन्तकहरूप्रति आँच पुग्न गएको हुँदा क्षमाप्रार्थी छु। आगामी दिनमा शब्द, संगीत छनोट गरी गाउने वाचा गर्दछु ।’

सम्बन्धित समाचार