काभा वुमन्स सन्स लिगको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको छ ।
नेपालले श्रीलंकालाई २५-१९, २५- १८ र २५-१९ ले पराजित गरेको हो । दोस्रो सेटमा ४-२ ले अग्रता लिएको श्रीलंकाले अग्रता जोगाउन सकेन । पहिलो सेटमा एकतर्फी जित निकालेको नेपालले दोस्रो सेटमा भने केही गल्ती गर्न पुग्यो । तर श्रीलंकन टिमको रिसिभ र ब्लकमा समस्याका कारण फराकिलो अन्तरले जित्यो ।
जितसँगै नेपालले अंक तालिकामा ३ अंक जोडेको छ । श्रीलंकाविरुद्धको खेलबाट न्यु डायमण्ड भलिबल क्लबकी मिडल ब्लकर सुमित्रा रेग्मी र त्रिभुवन आर्मी भलिबल क्लबकी स्पाइकर आरती सुवेदीले नेपाली महिला राष्ट्रिय भलिबल टोलीमा डेब्यू गरेका छन् ।
लिग चरणको दोस्रो खेलमा नेपालले शनिबार भारतविरुद्ध खेल्नेछ । आजै हुने दोस्रो खेलमा भारत र इरान भिड्नेछन् । सो खेल साँझ पौने ६ बजे सुरु हुनेछ ।