सिकार गर्न गएका युवकको गोली लागेर मृत्यु, सँगै गएका दुईजना पक्राउ

डोटीमा जंगली जनावर मार्न गएका युवकको गोली लागेर मृत्यु भएको छ ।

शुक्रबार बिहान डोटीको पूर्वीचौकी गाउँपालिका-६ गाँजरीस्थित घोत्नेगडा सामुदायिक वनमा गोली लागेर ३० वर्षीय अमर थापाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार गोली लागेपछि थापाको घटनास्थलमै मृत्यु भएको हो ।

थापामाथि कसरी गोली प्रहार भएको भन्नेबारेमा अनुसन्धान भइरहेको एसपी कोइरालाले जानकारी दिए । उनका अनुसार थापासँगै अरू दुइजना पनि शिकार खेल्न जंगल गएका थिए । पूर्वीचौकी गाउँपालिका-६ का ३३ वर्षीय रामबहादुर साउद र ४२ वर्षीय दिल्लीबहादुर साउदलाई पक्राउ परेका छन् ।

उनीहरूलाई धानबारीमा लुकेको अवस्थामा शुक्रबार राती करिब १० बजेतिर डोटीको नारीदाङ भन्ने ठाउँबाट पक्राउ गरिएको एसपी कोइरालाले जानकारी दिए ।

पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय डोटीमा ल्याइएको र घटनाबारे अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार