काठमाडौंको सडकमा युवकमाथि खुकुरी प्रहार, तीनजना समातिए

काठमाडौंमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीका १८ वर्षीय अनिष मगर, दैलेखका २६ वर्षीय कुमार पण्डित र दार्चुलाका १९ वर्षीय प्रेमसिंह महरा छन् ।

आलोकनगरमा बस्दै आएका कैलालीको धनगढीका २२ वर्षीय मनत केसीमाथि आइतबार (हिजो) दिउँसो उनीहरूले खुकुरी प्रहार गरेको आरोप छ । आलोकनगरस्थित सौराहा होटेलनजिक सडकमा उनीहरूबीच विवाद भएको थियो । त्यसक्रममा खुकुरी प्रहार गर्दा मनतको दाहिने हातको औँला पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ । घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

मगर र पण्डित काठमाडौं महानगरपालिका–३१, आलोकनगरमा बस्दै आएका थिए । महरा काठमाडौकै कागेश्वरी मनोहरा नगरपालिका–९, गोठाटारस्थित हात्तीडाँडामा बस्दै आएका प्रहरीले जनाएको छ ।

घटनापछि खोजतलासका क्रममा आइतबारै बेलुका काठमाडौंका विभिन्न स्थानबाट खुकुरीसहित आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार