बंगलादेशको संसद् विघटन

बंगलादेशका राष्ट्रपति महोमम्द शाहबुद्दिनले संसद् विघटन गरेका छन् ।

गत जनवरी ७ मा निर्वाचनबाट बनेको संसद् विघटन गर्दै राष्ट्रपति शाहबुद्दिनले भनेका छन्, ‘बंगलादेश आर्मी, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नागरिक समाज र विद्यार्थी आन्दोलनका अगुवाहरूको सहमतिमा १२ औं संसद् विघटन गरिएको छ ।’

आन्दोलनरत विद्यार्थीहरूले यसलाई प्रमुख माग बनाएका थिए । उनीहरूले मंगलबार दिउँसो ३ बजेसम्ममा संसद् विघटन गर्न अल्टिमेटम दिएका थिए ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा विपक्षी दलकी नेता खलिदा जिया जेलमुक्त भएको पनि उल्लेख गरिएको छ ।

सरकारी जागिरमा आरक्षण र कोटाको विरोधमा जुलाई पहिलो सातादेखि विद्यार्थी आन्दोलन सुरु भएको थियो । आन्दोलनकै बीच अदालतले आरक्षणको कोटा भारी कटौती गरेको छ ।

प्रधानमन्त्री शेख हसिना सोमबार देश छाडेर भागेपछि मुलुकमा के हुन्छ भन्ने अनिश्चय छ । 

सेनाप्रमुखले अन्तरिम सरकार गठन हुने बताएका छन् । तर, विद्यार्थीहरू नेताहरूले सैन्य नेतृत्वको सरकार नस्वीकार्ने अडान राखेका छन् ।

उनीहरूले नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस नयाँ क्याबिनेटको प्रमुख सल्लाहकार हुनुपर्ने बताएका छन् ।

सम्बन्धित समाचार