वैदेशिक रोजगारमा विभिन्न विदेश पठाइदिने प्रलोभन देखाई झन्डै दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
सिराहाको कर्जन्हा नगरपालिका–६ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–४, इमाडोल बस्ने ३२ वर्षीय गुनेशकुमार ठाकुरलाई सोमबार पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार गुनेशले वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने प्रलोभन देखाई ८५ जना पीडितहरूबाट एक करोड ९७ लाख १७ हजार रूपैयाँ उठाई ठगी गरेका थिए ।
गुनेशले काठमाडौंको बसुन्धारास्थित ओम इन्टरनेशनल प्रालिबाट आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा दुबई, कतार, साउदी, मलेसिया र कुवेत लगायतका देशमा पठाइदिन्छु भनी पीडितहरूबाट उक्त रकम उठाएको प्रहरीको भनाइ छ ।
पीडितबाट पैसा उठाएपछि गुनेश सम्पर्कविहीन भएका थिए । पीडितहरूले उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।