अनलाइन ठगीको आरोपमा हेटौँडाबाट ९ भारतीय पक्राउ

अनलाइन मार्फत् ठगी गरेको अभियोगमा ९ जना भारतीय नागरिक पक्राउ परेका छन् । मकवानपुर प्रहरीले उनीहरुलाई सोमबार साँझ पक्राउ गरेको हो ।

हेटौंडा–४, पारिजातपथमा रहेको प्रमोद वाग्लेको घरको पाँचौं तला भाडामा लिएर अनलाइन मार्फत् ठगी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (एसपी) सीताराम रिजालले जानकारी दिए ।

मेडि असिष्ट नामको कम्पनी मार्फत् अनलाईन ठगी कार्य भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको रिजालले बताए ।

पक्राउ पर्नेमा भारतको पटनाका ५७ बस्ने २८ वर्षीय नवनित कुमार, झारखण्डका २९ वर्षीय विकास कुमार सिंह, २८ वर्षीय अरुण कुमार, झारखण्डका २७ वर्षीय शाहरुख खान, बिहारका २९ वर्षीय कुन्दन कुमार, उत्तारखण्डका २६ वर्षीय आशिष कब्डौला, झारखण्डका ३४ वर्षीय विशाल कक्कड, झारखण्डका ३८ वर्षीय लोकेश कुमार दुवे र उत्तर प्रदेशका ४० वर्षीय कुनाल शर्मा रहेको छन् ।

एसपी रिजालका अनुसार २०८० फागुन १० गते हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा भारत पुष्प बिहार नयाँ दिल्ली स्थायी बसोबास गर्ने द्रबिन कुमार सिंहको नाममा मेडि असिष्ट कम्पनी दर्ता गरिएको खुलेको छ ।

आन्तरिक राजश्व कार्यालयमा मेडि असिष्ट कम्पनी देखाएर मानव स्वास्थ्य सम्बन्धी सेवा प्रदान गर्ने भन्दै पान नम्बर दर्ता गरिएको र उक्त कम्पनीमा १२ जना व्यक्तिहरुलाई काममा राखेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट विभिन्न कम्पनीका ल्यापटप ७ थान, राउटर ३ थान, मोवाइल १३ थान, हार्ड डिस्क १ थान, हेडफोन ४ थान, माउस २ थान, ल्यापटपका चार्जर १८ थान, वेब क्यामेरा १ थान, मेडी एसिस्ट डाइरेक्टर लेखेको स्ट्याम्प २ थान, मेडी एसिस्ट लेखेको स्ट्याम्प २ थान बरामद भएको छ ।

पक्राउ परेका उनीहरुमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ को उपदफा (१) २ विपरित कसुर अपराध गरेको मुद्दा दायर गरी मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार