विवाहको दबाब दिन थालेपछि ४९ वर्षीया प्रेमीकाको हत्या, २३ वर्षीय प्रेम पक्राउ

गत बुधबार आफ्नै घरमा मृत फेला परेकी रूकुम पश्चिमको सानीभेरी गाउँपालिका–४ लामाचौरकी ४९ वर्षीया शुसिला मल्लको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका चौरजहारी नगरपालिका–११ माथिल्लो सार्केनाका २३ वर्षीय प्रेम मल्ललाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

गत बुधबार बिहान ८:१५ बजेको समयमा मल्ल आफ्नै घरको तल्लो तलाको पश्चिमतर्फको कोठामा मृत फेला परेकी थिइन् । यही सुचनाका आधारमा अनुसन्धान गर्दा प्रेम मल्लको संलग्नता रहकेो खुलेको जिल्ला प्रहरी प्रमुख नवराज पोखरेलले जानकारी दिए ।

शुसिला हत्याको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका डिएसपी पोखरेलको कमाण्डमा प्रदेश प्रहरीसहितको विशेष अनुसन्धान टोली परिचालन गरेको थियो । प्रहरीका अनुसार मृतक शुसिला मल्ल र प्रतिवादी प्रेम मल्लबीच डेढ वर्षदेखि सम्बन्ध भएपनि विवाहको विषयमा कुरा नमिलेपछि विवाद हुँदा हत्या भएको हो ।

डिएसपी पोखरेलका अनुसार प्रेम अविवाहित हुन् । सुशीलाका श्रीमानको करिब १९ वर्ष पहिले नै मृत्यु भइसकेको थियो । सुशीलाका तीन छोराहरूमध्ये दुई छोरा तेस्रो मुलुक र रोजगारीको सिलसिलामा कान्छा छोरा भारतमा छन् । सुशीला घरमा जेठी बुहारीसँगै बस्दै आएकी थिइन् ।

गत मंगलबार मध्यरातितिर आफूलाई भेट्न आएका प्रेमलाई सुशीलाले गाउँ घरमा हल्ला भएको र सबैले थाहा पाएको भन्दै आफूसँग बिहे गर्न भनेर दबाब दिन थालिन् । प्रेमले त्यो कुरा आफू छोरा उमेरको भएको हुँदा बिहे गर्न नसक्ने भन्दै नकारे । त्यहीबीच उनीहरूको विवाद सुरू भएको प्रहरीले जनाएको छ । विवाद बढ्दै गएपछि उनीहरू आपसमा भिड्न थालेका थिए ।

प्रेमले त्यहीबेला नजिकैको रोटी पकाउने तावा, सिलौटो, लौरो, चम्चा लगायका वस्तुले आक्रमण गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार