हसिनाले भनिन्- विदेशी शक्तिले हटाए, चाँडै देश फर्किन्छु

आन्दोलनका कारण सत्तासहित देश छोडेर भागेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो पदच्युतमा अमेरिकाजस्ता ुविदेशी शक्तिुको हात रहेको आरोप लगाएकी छन् ।

देश छोडेपछि पहिलोपटक आफ्नो मौनता तोड्दै हसिनाको यो अभिव्यक्ति आएको हो । ‘मैले सेन्ट मार्टिन र बे अफ बंगाल अमेरिकालाई दिएको भए म सत्तामै रहन सक्थें’, उनले आफ्नो अवामी लिग समर्थकहरूलाई शनिबार लेखेको सन्देशमा छ । उनी अहिले भारतमा शरण लिइरहेकी छन् ।

अमेरिकासँग लामो समयदेखि हसिनाको सम्बन्ध तनावपूर्ण थियो । उनले गएको जनवरीमा एक जना गोरा व्यक्तिले एयरबेसको बदलामा सहजै शक्ति दिने बताएको अभिव्यक्ति दिएकी थिइन् ।

उनले नयाँ अन्तरिम सरकारलाई विदेशी शक्तिहरूबाट प्रयोग नहुनसमेत चेतावनी दिएकी छन् । ‘मैले शवको जुलुस नहेर्नुपरोस् भनेर राजीनामा दिएँ । उनीहरू तिम्रो (विद्यार्थी) शरीरमाथि सत्तामा आउन चाहन्थे, तर मैले अनुमति दिइँन। सायद आज म देशमा भएको भए धेरैले ज्यान गुमाउने थिए, धेरै सम्पत्ति नष्ट हुने थियो’, उनले भनिन् । उनले अर्को साता भारतमा सञ्चारकर्मीलाई पनि सम्बोधन गर्ने सम्भावना छ ।

हसिनाविरुद्ध साता लामो विद्यार्थी आन्दोलनमा ३०० भन्दा बढीको मृत्यु भएको थियो । अमेरिका, बेलायत क्यानडा र अन्य देशहरूले विद्यार्थीको मृत्युको छानबिन गर्न आह्वान गरेका छन् ।

‘म छिट्टै फर्किन्छु’
उनले वक्तव्यमा आफू छिट्टै फर्किने भनेको समेत द प्रिन्टले उल्लेख गरेको छ ।

‘म छिट्टै फर्किन्छु, हार मेरो हो, तर जित बंगलादेशका नागरिकहरुको हो’, उनले भनेकी छन्, ‘मैले आफैंलाई हटाएँ, तर तपाईंहरुको जितका साथ आएँ । तपाईंहरु मेरो शक्ति हुनुहुन्थ्यो, तपाईंहरु मलाई चाहनु हुन्थेन । त्यसैले मैले छाडेँ, राजीनामा दिएँ ।’

उनले अगाडि भनेकी छन्, ‘मेरा जति पनि कार्यकर्ता छन्, उनीहरुको मनोबल गिर्दैन, अवामी लिग पटकपटक उठेको छ ।’ हसिनाले आफ्नो भनाइलाई बंग्याएर प्रस्तुत गरिएको आरोप पनि लगाइन् ।

‘म मेरा युवा विद्यार्थीहरुलाई दोहोर्‍याउन चाहन्छु, मैले कहिल्यै रजाकर भनेको थिइनँ, मेरो शब्दहरु बंग्याइए’, उनले भनेकी छन्, ‘एउटा समूहले तपाईंहरुको खतराको फाइदा उठायो ।’

सन् १९७१ को युद्धमा बंगलादेश स्वतन्त्र हुनुअघि पाकिस्तानी सेनालाई सहयोग गर्ने समूहलाई रजाकार भनिन्छ ।

सम्बन्धित समाचार