अर्जेन्टिनी युवा फरवार्ड जुलियन आल्भारेज स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्ध भएका छन् । इंग्लिस क्लब म्यानचेस्टर सिटीमा दुई सिजन बिताएका अर्जेन्टिनी फरवार्डलाई सोमबार एट्लेटिको मड्रिडले भित्र्याएको हो ।
डियागो सिमोनको प्रशिक्षणमा रहेको एट्लेटिकोले आल्भारेजलाई ६ वर्षको सम्झौतासहित ८१.५ मिलियन पाउन्डमा भित्र्याएको छ । आल्भारेज सन् २०२२ जनवरीमा सिटीमा आबद्ध भएका थिए ।
“आज म एक उत्कृष्ट क्लबबाट बिदा भएँ, भारी भावनासहित । यी दुई वर्ष विशेष रहे । यस समयमा मैले धेरै सिकेँ, खेलाडी र एक व्यक्तिका रूपमा पनि,” सिटीसँगको सम्झौता समाप्त भएपछि आल्भारेजले भने ।
सिटीमा आल्भारेजले ‘डेब्यु’ सिजनमै ‘ट्रेबल’ जितेका थिए । उनले सिटीबाट १०६ खेल खेल्दा ३६ गोल गरे ।