मानव बेचबिखनको आरोपमा ५४ वर्षीय न्यौपाने पक्राउ

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले मानव बेचबिखन गरेको आरोपमा एक जनालाई प्रक्राउ गरेको छ ।

ग्रीन कार्डको प्रलोभन देखाई मौरिसस पुर्‍याई मानवबेचबिखनमा संलग्न रहेको आरोपमा झापा कमल गाउँपालिका– १ का ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई प्रक्राउ गरिएको ब्युरोका एसपी गौतम मिश्रले जनाए ।

२७ वर्षीया महिला गत असार २० गते मौरिससबाट फर्केपछि ब्युरोमा उजुरी दिएकी थिइन् । प्रहरीकाअनुसार महिलालाई मासिक ७० हजार तलब हुने कुकको काम लगाईदिने र केहि समय पछि ग्रिन कार्ड समेत मिलाईदिने आश्वसन दिएर न्यौपानेले मौरिसस पठाएको पाईएको छ ।

साढे दुई लाख रुपैयाँ लिएर महिलालाई २०८० मंसिरमा दिल्ली हुँदै पठाइएको अनुसन्धानमा खुलेको मिश्रले जनाए । ती महिलालाई मौरिसियन नागरिकको जिम्मा लगाई दैनिक १७/१८ घण्टा काममा लगाइएको र श्रम तथा यौन शोषण समेत गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

आरोपित न्यौपाने विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको व्युरोले जनाएको छ । पीडित महिला पोर्चुगलमा रहेको नेपालीको सहयोगमा नेपाल फिर्ता भएकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार