बसमा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ

बसमा लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई सर्लाहीको एक होटेलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–४ जिरायत बस्ने ४० वर्षीय रामबहादुर थिङ, धादिङको सुनौलो नगरपालिका–४ रिजालटोल बस्ने ४४ वर्षीय कृष्ण ठकुरी र मोरङको विराटनगर महानगरपालिका–१२ बस्ने ५४ वर्षीय रुपक भुजेल रहेका छन् । उनीहरुलाई सर्लाहीको बागमती–१२ स्थित पुतली चोकमा रहेको कालिका होटलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले स‍‍ोमबार सिन्धुलीको भिमानबाट बर्दिबासतर्फ आएको ना ३ ख २८७६ नम्बरको बसमा सवार भई आएका महोत्तरीको बर्दिबास नगरपालिका–३ बस्ने ७० वर्षीय रेशम बहादुर बलम्पाकीको साथमा रहेको ४ लाख ७० हजार रुपैयाँ लुटेका थिए ।

प्रहरीले उनीहरुको साथबाट लुटिएको रकममध्ये २ लाख २८ हजार ५ सय रुपैयाँसमेत बरामद गरेको छ । पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय महोत्तरीमा पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार