कालीकोटको नरहरिनाथ गाउँपालिकाका कोटवाडा, लालु, माल्कोट, कुमालगाउँ र रुप्सा गाउँमा प्रत्येक घरमा एउटा गाई वा भैँसी अनिवार्य पाल्ने चलन परापूर्वकालदेखिको चलन हो ।
गाउँपालिकाको प्रायः सबै घरपरिवारमा दुग्धजन्य पशुपालन हुने गरेको भए पनि यहाँ दूध दहीको बिक्री भने हुँदैन । ‘विगतका दूध बिक्री गरेमा देवता रिसाउँछन् भन्ने आम मान्यताका कारणले दूध र दही बिक्री गर्ने चलन थिएन्, अहिले गाउँमा बजार बने पनि कसैले दूध दही हुन्छ बिक्री गर्न लैजाँदैनन्’, नरहरिनाथ गाउँपालिका–९ लालुका ७० वर्षीया पदमसिंह रावल भन्छन् ।
दूध बिक्री नगरेपनि स्थानीयहरु घ्यू बनाएर बिक्रीका लागि टाढाटाढाको बजारमा पुग्ने गर्दछन् । अहिले गाउँगाउँमा नै यातायातको सुविधा पुगेपछि घ्यू बिक्री गर्न समस्या नभएको स्थानीय कटबहादुर विष्टले बताए । ‘विगतमा घ्यू जम्मा गरेर कैलाली, नेपालगञ्ज र सुर्खेतका बजारमा लिएर बिक्री गर्ने र त्यसबाट आएको पैसाले लत्ताकपडा किनेर ल्याउने गरिन्थ्यो’, उनी भन्छन् ।
गाईभैँसीको घ्यू बेचेर राम्रो आम्दानी लिने गरेको नरहरिनाथ गाउँपालिका–९ लालुका ७२ वर्षीया गज सार्कीले बताए । पहिले आफूले १० वटासम्म भैँसी पालेको र ती भैँसीबाट वर्षमा एक क्विन्टलसम्म घ्यू बनाएर नेपालगञ्ज, बर्दिया र कैलालीको बजारमा बेच्न लिएर गएको उनी सम्झन्छन् ।
पशुपालनतर्फ घट्दो आकर्षण प्रायः यहाँका सबै घरमा चारवटाभन्दा बढी गाईभैँसी पाल्ने गरेकामा अहिले धेरैले पाल्न छाडेका छन् । गाउँपालिकामा भैँसी पाल्ने चलन अहिले लोप हुँदै गएको छ । चरन क्षेत्रको अभाव, पशुपालनप्रति घट्दो आकर्षण र अधिकांश गाउँका युवा रोजगारीका लागि अन्य पेसा व्यवसाय तथा विदेश जाने गरेका कारणले गाईभैँसी पाल्ने चलन कम हुँदै गएको हो ।
परम्परादेखि नै एउटा घरमा एउटा गाई वा भैँसी अनिवार्य पाल्ने गरिएकामा बीचमा अन्य पेसा व्यवसायतर्फ लागेका किसानलाई पुनः पशुपालनतर्फ आकर्षित गर्न खोजिएको छ । यस गाउँपालिकामा ३ हजार ९१० घरपरिवारको सङ्ख्या छ ।
राष्ट्रिय तथ्याङ्क विभागको कृषि गणना २०७८ अनुसार गाउँपालिकामा पशुपालन गर्ने ३ हजार ७९५ घरपरिवार छन् । गाउँपालिकाभित्र गाई, गोरुको सङ्ख्या चार हजार चार सय ३६ र राँगा, भैँसीको सङ्ख्या ४ हजार २१० छ ।
दिन प्रतिदिन वनजङ्गल मासिँदै गएपछि भैँसीलाई खुवाउने घाँसको अभाव तथा चरिचरन क्षेत्र नहुँदा र युवाहरु रोजगारीका देश तथा विदेश गएका कारणले अहिले गाईभैँसी एकदुईवटा मात्र पाल्ने गरिएको उनको भनाइ छ । नरहरिनाथ गाउँपालिका–५ रुप्साका पर्से सहकारी भन्छन्, ‘अहिले त मानिसहरुले आम्दानीका अन्य स्रोत खोज्न थाले । त्यसैबाट आफ्नो रोजीरोटी खोज्छन् ।’
नयाँ पुस्ताका युवाहरुको विदेश पलायन तथा अन्य पेसा व्यवसाय जस्ता कारणले व्यावसायिक र बजारीकरण समस्याका कारणले पनि गाईभैँसी पाल्ने पेसा लोप हुँदै गएको छ ।
नरहरिनाथ गाउँपालिका–७ माल्कोटका केशे बोहरा भन्छन्, ‘पशु चौपायाहरुमा विभिन्न रोगको सङ्क्रमण हुँदा समेत किसानले सेवा पाउँदैन् । पशु बीमाको व्यवस्था नहुँदा पनि किसान मर्कामा परेका छन् ।’
किसानलाई गोठालो भत्ता दिन सुरु किसानलाई पशुपालनमा आकर्षित गराउन गाउँपालिकाले गोठालो भत्ता दिन सुरु गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट किसानलाई गोठालो भत्ता दिएको हो ।
किसानलाई गोठालो भत्ता
पशुपालन व्यवसाय बढाउनका लागि गाउँपालिकाले किसानलाई गोठालो भत्ता दिने गरेको गाउँपालिकाका उपाध्यक्ष कमलबहादुर शाहले जानकारी दिए । गोठालो भत्ता कार्यक्रमअन्तर्गत किसानले मासिक एक हजार रुपैयाँ पाउँछन् ।
उहाँका अनुसार किसानलाई पशुपालनमा प्रोत्साहित गर्नका लागि गोठालो भत्तास्वरुप आर्थिक वर्ष २०८०/८१ मा १० लाख रुपैयाँ गाई भैंसी पाल्ने किसानलाई भत्ता वितरण गरिएको थियो । गोठालो भत्ताका लागि पालिकाले मापदण्ड पनि बनाएको छ ।
सो मापदण्ड पूरा गरेका एक सय ३९ जना किसानलाई प्रात्साहन भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ । उपाध्यक्ष शाहले भन्छन्, ‘गोठालो शब्दको सम्मान र युवा तथा बेरोजगारलाई कृषि पेसामा आकर्षण गर्न कार्यक्रमलाई प्राथमिकता दिएका छौँ । गाउँमा गोठालोभन्दा हेपाहाका रुपमा लिइन्छ । यस कार्यक्रमले गोठालो शब्दको सम्मान गर्नेछ ।’
दुग्ध सङ्कलन केन्द्र स्थापना गरिने किसानलाई आफूले उत्पादन गरिएको दूध बिक्री गर्न सहज बनाउन गाउँपालिकाले दूध सङ्कलन केन्द्र स्थापना गर्न लागेको छ । गाउँपालिकामा उत्पादन हुने दूधलाई बाहिर निर्यात गर्नका लागि गाउँपालिकाले दूध सङ्कलन केन्द्र स्थापना गर्न लागेको उपाध्यक्ष शाहले जानकारी दिए ।
‘दूध सङ्कलन गरेर जिल्लाका अन्य बजार तथा जुम्ला र सुर्खेतसम्म निर्यात गर्ने लक्ष्य राखेका छौँ,’ उनले भने, ‘यसका लागि गाउँमै दूध सङ्कलन केन्द्र स्थापना गर्दैछौँ ।’ पहिलो चरणमा दूध बिक्रीका लागि जुम्लाको हिमा गाउँपालिकासँग सम्झौता भएको उपाध्यक्ष शाहले बताए ।
नरहरिनाथ गाउँपालिका दूध सङ्कलन केन्द्र नहुँदा पनि यहाँ उत्पादन भएको दुग्धजन्य पदार्थको उचित बिक्री गर्नका लागि समस्या भएको गाउँपालिकाले जनाएको छ । दूध प्रशोधन र बजारीकरणका लाग निजी तथा सहकारी क्षेत्रसँगको साझेदारीमा दूध तथा दुग्धजन्य वस्तु उत्पादन उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने गाउँपालिकाले लक्ष्य राखेको उपाध्यक्ष शाहले बताए ।
भैंसी पकेट क्षेत्र घोषणा
भैँसीपालन बढाउन पकेट क्षेत्र घोषणा नरहरिनाथ गाउँपालिकाले गाई, भैँसीपालनलाई बढाउनका लागि भैँसी पकेट क्षेत्र घोषणा गरेको छ । गाउँपालि–४ र ५ को रुप्सा गाउँलाई भैँसी पकेट क्षेत्र बनाउन लागेको हो । नरहरिनाथ गाउँपालिका जिल्लामै पशुपालनको प्रशस्त सम्भावना रहेको ठाउँ मानिन्छ ।
पशुपालन व्यवसायलाई थप गुणस्तरीय र उत्पादनमुखी बनाउनका लागि वडा नं ४ र ५ को रुप्सा गाउँलाई भँैसी पकेट क्षेत्र घोषणा गरिएको गाउँपालिका उपाध्यक्ष शाहले जानकारी दिए । ‘ग्रामीण भेगका पशुपालक कृषकहरुको आयस्तर वृद्धि गर्न सीपमूलक पशुपालनसम्बन्धी तालिमको व्यवस्था गर्ने लक्ष्य राखेका छौँ,’ उनले भने ।
रैथाने पशुको नश्लको संरक्षण गर्न स्थानीय जातको भाले पशुको व्यवस्थापन गरी कृषकलाई प्रोत्साहन गरिने उनको भनाइ छ । साथै उन्नत जातको भाले पशुको विर्य ल्याएर कृत्रिम गर्भाधानको कार्यलाई प्राथमिकता राखिएको पालिकाले जनाएको छ ।