२० वर्षीया श्रीमतीको हत्या आरोपित पक्राउ

मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ कालीखोलास्थित काफलडाँडाका मङ्गलबहादुर पाख्रिनलाई प्रहरीले श्रीमती हत्या गरेको आरोपमा पक्राउ गरेको छ । २६ वर्षीय पाख्रिनले श्रीमती लक्ष्मी पाख्रिनलाई हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

मङ्गलबहादुरले करिब २० वर्षीया लक्ष्मीलाई हत्या गरेर कालिखोलास्थित सामुदायिक वनमा गाडेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पालुङ र जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले मङ्गलबार बिहान ४ बजेको समयमा उक्त घटनास्थलको प्रारम्भिक अनुसन्धानसँगै स्थानीय र मृतकका श्रीमानलाई सोधपुछ गर्ने क्रममा मङ्गलबहादुरले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मङ्गलबहादुरले आइतबार दिउँसो २ः३० बजेको समयमा श्रीमती लक्ष्मीलाई आफ्नै घरभित्र धारिलो हतियार बन्चरो प्रहार गरी विभत्स रुपमा हत्या गरी शवलाई ११ वटा टुक्रा पारी दुई वटा बोरामा हाली कालीखोलास्थित सामुदायिक वनमा खाल्डो खनेर गाडेको पाइएको छ ।

प्रहरीका अनुसार मृतकका कपडा शव गाडेको स्थानभन्दा केही अगाडि बोरामा हाली खाल्डो खनी गाडेको र घटनामा प्रयोग भएको धारिलो हतियार बन्चरोको बिड फुकाली घरभन्दा पूर्वतर्फ खाल्डो खनी गाडेको प्रारम्भिक अनुसन्धानबाटा खुल्न आएको छ ।

साथै मृतकको गाडेको शव, घटनामा प्रयोग भएको हतियार बन्चरो र कपडा समेत खाल्डोबाट निकाली मङ्गलबहादुरलाई पक्राउ गरी बुधबार मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार