आजबाट सुरु हुँदै स्पेनिस लालिगा

क्लब फुटबलको प्रतिस्ठित फुटबल प्रतियोगिता स्पेनिस लालिगाको नयाँ सिजन आजबाट सुरु हुँदैछ । ला लिगाको २०२४-२५ को सिजनमा यो पटक केही टोलीले स्टार खेलाडीलाई अनुबन्धन गरेसँगै प्रतियोगिता थप रोचक हुने अनुमान गरिएको छ ।

सिजनको उद्घाटन खेलमा एथ्लेटिक विल्वाओ र गेटाफेबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल एथ्लेटिक क्लबको मैदान सान माम्स बारियामा नेपाली समय अनुसार राति १०:४५ मा सुरु हुनेछ । दुवै टोली जितबाट नयाँ सिजनको सुरुआत गर्ने लक्ष्यमा रहेका छन् ।

२० टोली सहभागी लिगमा साविक विजेता रियल मड्रिड उपाधि रक्षा गर्ने अभियानमा हुँदा बार्सिलोना र एट्लेटिको यो पटक शीर्ष स्थानमा रहने दौडमा हुने छन् । जारी सिजन लेगानेस, भाल्लाडोलिड र स्पानयोल दोस्रो श्रेणीबाट बढुवा हुँदै शीर्ष डिभिजन खेल्न लाग्दा अघिल्लो सिजन ला लिगा खेलेका अल्मेरिया, ग्रानाडा र क्याडिज भने रेलिगेसनमा झरेर दोस्रो डिभिजन खेल्न पुगेका छन् ।

लालिगामा बार्सिलोनाले शनिबार आफ्नो पहिलो खेल भ्यालेन्सियासँग खेल्दा रियल म्याड्रिडले आइतबार मालोर्काको सामना गर्नेछ । यो सिजनको पहिलो एल क्लासिको भिडन्त भने २७ अक्टोबरमा रियल म्याड्रिडको घरेलु मैदानमा हुनेछ ।

सम्बन्धित समाचार