दशरथ रङ्गशाला बिग्रिएपछि सातदोबाटो सर्‍यो साफ यु–२० फुटबल

नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रङ्गशालाको अवस्था नाजुक भएपछि आइतबार देखि सुरु हुने साफ यु–२० च्याम्पियनसिप फुटबल सातदोबाटोमा हुने भएको छ ।

दशरथ रङ्गशाला खेल्न नमिल्ने गरी बिग्रिएकोले च्याम्पियनसिप एन्फा मैदान सातदोबाटो सारिएको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले रङ्गशालाको अवस्था खेल्न नमिल्ने भएपछि खेल एन्फा मुख्यालयको एस्टो टर्फमा खेलाउन लागिएको जानकारी दिएको छ ।

एएफसी च्यालेन्ज कपको प्लेअपअन्तर्गत चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसीबिच मङ्गलबार भएको खेलले दशरथ रङ्गशालाको अवस्था बिग्रिएको थियो । हिलाम्मे मैदान र खेलाडीको बिजोग अवस्थाबारे सर्वत्र आलोचना भएको थियो दशरथ रङ्गशालाको अवस्था देखेपछि दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले एन्फालाई मैदानको विकल्प खोज्न आग्रह समेत गरेको थियो ।

मैदान अभावका कारण यस च्याम्पियनसिप एन्फाको टर्फमै खेलाउने र फाइनल खेल दशरथ रङ्गशाला हुने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको पनि बिहीबार आयोजित पत्रकार सम्मेलनमा एन्फाले जनाएको छ । च्याम्पियनसिपका भाग लिन माल्दिभ्स टोली बिहीबार नै नेपाल आइपुगेको छ । अन्य टोली शनिबारसम्म आइपुग्नेछन् ।

साफ यु-२० च्याम्पियनसिप ६ देशको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित बङ्गलादेश र श्रीलङ्का रहेको छ । समूह ‘बी’ बाट भारत, माल्दिभ्स र भुटान रहेका छन् । उद्घाटन खेलमा नेपाल र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपका लागि एन्फाले नेपाली खेलाडी टोलीको घोषणा समेत गरिसकेको छ ।

नेपाली टोलीमा जियारथ शेख र कृषल मोक्तान (गोलरक्षक), विशाल केसी, सीमान्त थापा, अश्विन घोरा, सैनीविक्रम तामाङ, आयुष तिम्सिना, मदन पौडेल, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निन्साङ लिम्बु, कुशल देउवा, अविनाश स्याङ्तान, जनप्रकाश बम, लचु थापा, नीरज कार्की, हरिश राज भट्ट, धर्बेन्द्र कुँवर, अनिल बम्जन, समीर तामाङ, नीराजन धामी र रोहन खड्गी रहेका छन् ।

सम्बन्धित समाचार