भैरहवा र पोखरा विमानस्थलमा उडान भर्ने कम्पनीलाई निगमले प्रतिकिलोलिटर १०० डलर छुट दिने

नेपाल आयल निगमले भैरहवा र पोखरा विमानस्थलको हवाइ ढुवानीमा छुट दिने भएको छ ।

बिहीबार बसेको बोर्डको सञ्चालक समिति बैठकले प्रतिकिलोलिटर इन्धनमा १०० डलर छुट दिने निर्णय गरेको हो ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा र भैरहवा विमानस्थल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको थियो । जसअनुसार निगमले लागत मूल्यबराबरको हवाइ इन्धनमा छुट दिन लागेको निगमका बोर्ड अध्यक्ष मधुसुदन बुर्लाकोटीले बताए ।

उनका अनुसार भैरहवा र पोखरामा औसत लागत मूल्यअनुसार १०० डलर छुट दिने निर्णय गरिएको हो । उनले भैरहवाको तुलनामा पोखरामा इन्धनको लागत फरक भए पनि औसत मानेर १०० डलर छुट दिने निर्णय भएको बताए ।

यो निर्णयपछि अहिले प्रतिकिलोलिटर १ हजार ४२ डलर रहेको अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धन पोखरा र भैरहवामा ९४२ डलरमा झर्ने छ । त्रिभुवन विमानस्थलबाट उडान भर्नेहरुका लागि साविककै मूल्य तय छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार