फ्रेन्च लिग १ मा पीएसजीको सानदार सुरुवात

फ्रान्सेली स्टार केलियन एमबाप्पे यसै सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्दै रियल मड्रिड पुगेपछि फ्रेन्च लिग १ मा पीएसजीले सानदार सुरुवात गरेको छ ।

शुक्रबार राति भएको खेलमा पीएसजीले ले हाभ्रेमाथि ४–१ को फराकिलो जित दर्ता गरेको हो ।

फरवार्ड ली काङ–इनले सुरुवातको तेस्रो मिनेटमा नै गोन्कालो रामोसको पासमा गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० ले अग्रता बनाएको पीएसजीले दोस्रो मिनेटमा नै गोल खान पुग्यो । खेलको ४८ औँ मिनेटमा गौटिएर लोरिसले बराबरी गोल फर्काए ।

त्यसपछि गोलका लागि केही संर्घष गरेको पीएसजीले अग्रता बनाउन खेलको ८५ मिनेटसम्म पुग्नु परेको थियो । खेलको ८५ औँ मिनेटमा ओस्मान डेम्बेलेको गोलमा पीएसजीले खेलमा २–१ को अग्रता बनायो ।

लगत्तै ब्राडली बारकोलाले गोल गर्दै पिएसजीको अग्रता फराकिलो पारे । त्यसपछि ९० औँ मिनेटमा रान्डल कोलो मुआनीले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई सहज जित दिलाए ।

पीएसजीका लागि २ सय ४४ गोल गरेका कीर्तिमानी गोलकर्ता एमबाप्पे फ्रान्सेली क्लबसँगको सम्झौता सकिएपछि यही समयमा ५ वर्षका लागि रियल मड्रिड पुगेका छन् ।

सम्बन्धित समाचार