गोसाइकुण्डमा पहिलोपटक पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाइकुण्डमा पहिलोपटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले समुद्र सतहबाट चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइकुण्डमा शुक्रबार ग्रिडको विद्युत् पुर्‍याइएको छ । बत्ती पुगेसँगै गोसाइकुण्ड क्षेत्र झिलिमिली भएको छ ।

धार्मिक एवम् पर्यटकीय गन्तव्य गोसाइकुण्डमा जनैपूर्णिमा दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएको हो । अहिलेसम्म गोसाइकुण्ड क्षेत्र र त्यहाँ पुग्ने पैदल बाटोमा पर्ने केही स्थानका पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट विद्युत् प्रयोग गरिरहेका थिए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत गोसाइकुण्डमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएको बताए ।

रसुवाको सदरमुकामबाट गोसाइकुण्डतर्फ जाने बाटोमा पर्ने चन्दनबारीसम्म यसअघि नै राष्ट्रिय ग्रिड पुगेको थियो । चन्दनबारीबाट करिब आठ किलोमिटर ११ केभी लाइन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै गोसाइकुण्डमा पुर्‍याइएको छ । यसका लागि निकुञ्जसँगको समन्वयमा २०० वटा पोल राखिएका छन् । पोल, ट्रान्सफर्मर लगायतका उपकरणहरू मानिस र खच्चडले ढुवानी गरिएको थियो ।

गोसाइकुण्डमा विद्युत् आपूर्तिका लागि १५ केभीए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरिएको छ । वर्खायाम सकिएर मौसममा सुधार आउनासाथ ५० केभीएको ट्रान्सफर्मर राखिने छ । वर्खाका कारण ठूलो क्षमताको ट्रान्सफर्मर ढुवानी गर्न नसकेपछि हाललाई बुद्धमन्दिर र गुसाइकुण्डमा १५र१५ केभीए क्षमताका ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको प्राधिकरण धुन्चे वितरण केन्द्र प्रमुख सञ्जिव भट्टराईले बताए ।

भट्टराईले गोसाइकुण्ड जाने बाटोमा पर्ने जोलाङपाटी, लौरीबिना र बुद्धमन्दिरमा ५०÷५० केभीएको वितरण ट्रान्सफर्मर राखिने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार