विदेशी मुद्रा सञ्चिति १५ अर्ब २७ करोड डलर पुग्यो, १३ महिना आयात धान्ने

नेपालको विदेशी मुद्रा सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २४ करोड डलर भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनानुसार आर्थिक वर्ष २०७९/८० को असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३२.६ प्रतिशतले बढेर २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ पुगेको हो ।

आर्थिक वर्ष २०८०/८१ को आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा ३०.४ प्रतिशतले वृद्धि भई १५ अर्ब २७ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १८ खर्ब ४८ अर्ब ५५ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति १ खर्ब ९२ अर्ब ५५ करोड पुगेको छ ।

२०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार