पोखरामा कुहिएको माछा र मासु बिक्री

पोखरामा कुहिएको माछा र खसीको मासु विक्री गरेको फेला परेको छ । उपभोक्ताको स्वास्थ्यमा गम्भिर खेलवाड गर्दै खानलाई अयोग्य कुहिएका माछा मासु बिक्री गरेको फेला परेको हो ।

आइतबार पोखरा महानगरपालिकाले अनुगमन सुरु गरेकै दिनमा २३४ किलो कुहिएको माछा र मासु फेला परेको छ । महानगरपालिकाकी अनुगमन समिति संयोजक मञ्जुदेवी गुरुङ नेतृत्वको टोलीले पोखराका सिद्धार्थ चोकमा रहेको श्रीकम्पलेक्स, सृजनाचोक र पृथ्वीचोकमा सञ्चालित १७ वटा माछा र मासुका पसल अनुगमन गर्‍यो ।

अनुगमन टोलीले कुहिएर खानै अयोग्य २१९ किलो माछा र १५ किलो खसीको मासु जफत गरेको छ । पृथ्वीचोकको बसपार्कमा सञ्चालित लाचन फिस सप्लार्यसबाट १ किलो कुहिएको माछा जफत भएको महानगरका सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए । उनका अनुसार पृथ्वीचोकमै होलसेल माछा बिक्री गर्ने राजु फिस हाउसबाट ८० केजी कुहिएको माछा जफत गरिएको छ । यी दुवैका सञ्चालकलाई ५०/५० हजार रुपैयाँ जरिवाना गरिएको सापकोटाले बताए ।

सृजनाचोकको सद्धाम फ्रेस हाउसबाट खान अयोग्य ८ केजी माछा र खसिको मासु, जस्मिन फ्रेस हाउसबाट ७ केजी खसिको मासु जफत गरिएको छ । दुवै पसललाई ३०–३० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

श्रीकम्प्लेक्सको न्यू रमेश फिस हाउसबाट १३ किलो ३ सय ग्राम सडेको माछा फेला परेको छ । माछा जफत गरी २० हजार रुपैयाँ जरिवाना गरिएको छ । न्यू सुमन फिस हाउस, सुरज फिस हाउस, नमुना मत्स्य बिक्री केन्द्र लगायत ५ वटा पसललाई १५ हजारका रुपैयाँका दरले जरिवाना गरिएको सापकोटाले जानकारी दिए ।

जफत गरिएको माछा र मासु भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीको जैविक डिस्पोजल पीटमा डिस्पोज गरिएको पोखरा महानगर बजार अनुगमन समितिका सदस्यसचिव अनिल कार्कीले जानकारी दिए । जरिवानाबाट २ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको हो । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा (घ) को कसुरमा दफा ३९ बमोजिम कारबाही गरिएको छ ।

अनुुगमनमा पसल नविकरण नभएको, सरसफाइको कमी, सिसा, जाली नलगाएको, डि–फ्रिज नभएको, माछापसल संचालनका लागि तालिम नलिएको, फोहोर पानीको प्रयोग गरेको लगायत भेटिएको छ ।

माछा तथा मासु बिक्री गर्ने अन्य ७ वटा पसललाई मुल्यसुचि राख्न, पसल सरसफाई गर्न, पसल दर्ता गरी मापदण्ड अनुसार संचालन गर्न निर्देशन दिइएको हो ।

सम्बन्धित समाचार