इजरायली सेनाले आन्तरिक सुरक्षा निकाय शिन बेटसँगको संयुक्त कारबाहीमा गाजाको दक्षिणी क्षेत्र खान युनुसबाट ६ बन्धकको शव बरामद गरिएको मंगलबार जनाएको छ ।
बन्धकमध्ये यागेभ बुचस्टाब, अलेक्जान्डर डान्सिग, योराम मेट्जर, नादभ पोपलवेल, चेइम पेरी यसअघि नै मृत घोषित थिए । अब्राहम मुन्डरलाई मंगलबार बिहान मृत घोषणा गरिएको थियो । गुप्तचर तथा फरेन्सिक परीक्षणपछि शव बन्धकका परिवारलाई बुझाउने तयारी गरिएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।
बन्धकका शव बरामदपछि उनीहरूको अन्त्येष्टिका निम्ति परिवारको पर्खाइको समय सकिएको होस्टेज एन्ड मिसिङ फेमिलीज् फोरमले विज्ञप्तिमार्फत जनाएको छ । फोरमले इजरायली सरकारलाई वार्ता र सम्झौतामार्फत बाँकी बन्धक फिर्ताको निश्चित गर्न आह्वान गरेको छ ।
इजिप्ट, कतार अमेरिकालगायत मध्यस्थकर्ताले इजरायल र हमासलाई इजरायली जेलमा रहेका प्यालेस्टाइनी कैदीहरूको बदलामा बाँकी बन्धकको रिहाइ सुरक्षित गर्न मद्दत गर्ने युद्धविराम सम्झौतामा सहमत हुन आग्रह गरेका छन् ।
मंगलबार बरामद गरिएका ६ शवमध्ये मेट्जर, पेरी र डान्सिग गाजानजिकैको समुदाय निर–ओजका थिए । त्यो आक्रमणबाट धेरै प्रभावित क्षेत्र हो ।
प्यालेस्टाइनी इस्लामिक कट्टरपन्थी समूहले मुन्डर, उनकी श्रीमती, छोरी र नाति समेतलाई अपहरण गरेको थियो । परिवारका अरू सदस्य नोभेम्बरको एक हप्ता लामो युद्धविरामका क्रममा रिहा गरिएका थिए । उनका छोरा आक्रमणकै दिन मारिएका थिए ।
इजरायली आधिकारिक तथ्यांकानुसार, हमासको आक्रमणमा अधिकांश नागरिकसहित इजरायलमा एक हजार १९९ जनाको मृत्यु भएको थियो । त्यहीक्रममा २५१ जनालाई बन्धक बनाइएको थियो । तीमध्ये १०५ जना अझै गाजामा बन्धक अवस्थामा छन् । ३४ जनाको मृत्यु भएको सेनाले जनाएको छ ।
इजरायलको जवाफी आक्रमणले गाजामा ४० हजारभन्दा बढी प्यालेस्टाइनीको ज्यान लिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले गाजा आक्रमणमा ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका रहेका जनाएको छ ।