गत शुक्रबारबाट प्रदर्शनरत फिल्म ‘बुलाकी’ दक्षिण एसियाकै प्रतिष्ठित मानिने श्रीलंकाको सिनेमा महोत्सवमा छनोट भएको छ ।
सुरक्षा पन्त अभिनित यो फिल्म ‘जाफना इन्टरनेसनल सिनेमा फेस्टिभल २०२४’ मा छनोट भएको छ । उक्त फेस्टिभल अन्तर्गतको उत्कृष्ट डेब्यु फिल्म प्रतिस्पर्धाको लागि यो फिल्म छनोटमा परेको हो । जाफना सिनेमा फेस्टिभलको दशौं संस्करण आगामी सेप्टेम्बरमा हुँदै छ ।
‘बुलाकी’ प्रतिस्पर्धामा छनोट भएको उक्त अवार्ड गत वर्ष नेपाली फिल्म ‘द रेड सुटकेसले’ जितेको थियो । फिल्म निर्माता तथा अभिनेता विराज बिष्टले सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक गर्दै खुसी व्यक्त गरेका छन् ।
‘तन, मन, धन र ज्यान बाजी लगाएर गरिएको कामले कहिँ न कहिँ सार्थकता पाउने रैछ, श्रीलंकाको प्रतिष्ठित सिनेमा महोत्सवमा बुलाकी छनोट भएको खुसी साट्न पाउँदा हर्षित छु । हाल नेपाली सिनेमा घरमा प्रदर्शनरत हाम्रो फिल्म अर्को हप्ताबाट अन्तर्राष्ट्रिय प्रदर्शनी थालनीको तयारीमा रहेको समेत जानकारी गराउन चाहन्छु,’उनले लेखेका छन् ।
नेपाल सरकारबाट विशेष फिल्मको अवार्डबाट पुरस्कृत यो फिल्मले यसअघि नै देश तथा विदेशका विभिन्न प्रतिष्ठित अवार्ड जितिसकेको छ। यो फिल्म दोस्रो पटक प्रदर्शनमा आएको हो ।
लक्ष्मण सुनार निर्देशित यस फिल्मले पश्चिम नेपालको कर्णाली र सुदूरपश्चिम भेगको सामाजिक कथा उठान गरेको छ । यस फिल्ममा सुरक्षा र विराजसहित नरेन खड्का, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी लगायतको अभिनय छ ।