साफ यू–२० च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा 

बंगलादेशलाई हराउँदै नेपाल समूह विजेताको रुपमा साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले २(१ को जित दर्ता गरेको हो ।

एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो हाफमै नेपालले २-१ को अग्रता लिएको थियो । २ मिनेटको अन्तरमा नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरेका हुन् । यस्तै, बंगलादेशका मिराइजुल इस्लामले एक गोल गरे ।

खेलको तीन गोल नै पहिलो हाफमा भएको थियो । खेलको १७औँ मिनेटमा तेस्रो सेकेन्डमा नेपालका समीरले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । बंगलादेशको कर्नरलाई नेपाली रक्षकले क्लियर गरेको बललाई बंगलादेशी गोलकिपरबाट खोस्दै समीरले खाली पोस्टमा बललाई जाली चुमाए ।

यसको १०९ सेकेन्डपछि नेपालका निराजनले घरेलु टिमको अग्रता दोब्बर बनाए ।

निराजनले १८औँ मिनेटको ५२औँ सेकेन्डमा गोल गरेपछि नेपालले अग्रता २–० मा पुर्‍याएको थियो । ४२औँ मिनेटमा मिराइजुल इस्लामले गोल गरेपछि बंगलादेशले पहिलो हाफमा स्कोरालाइनलाई २–१ मा ल्यायो ।

१८ यार्ड बक्सभित्र नेपालका रक्षकले इस्लाममाथि नै फाउल गरेपछि बंगलादेशले पेनाल्टीको अवसर पाएको थियो । जसमा इस्लामले कुनै गल्ती गरेनन् ।

दोस्रो हाफमा दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न सकेनन् । बंगलादेशले तुलनात्मक रुपमा बढी अवसर सिर्जना गरेपनि गोल गर्न सकेन । इन्ज्युरी समयको अन्तिम मिनेटमा गोलरक्षक जियारत शेखले फ्रिकिकमा आएको हेडरमा सानदार बचाउ गर्दै नेपालको जित पक्का गरे ।

यससँगै नेपालको २ खेलमा ६ अंक भएको छ । बंगलादेश ३ अंकका साथ उपविजेता बन्दा श्रीलंका अंकविहिन रहँदै बाहिरियो ।

समूह बी मा भारत र भुटानको समान ३-३ अंक छ । भारतले शुक्रबार समूहको अन्तिम खेलमा माल्दिभ्सको सामना गर्नेछ ।

सम्बन्धित समाचार