साफ यू-२० च्याम्पियनसिपअन्तर्गत सेमिफाइनल खेलमा आज (आइतबार) घरेलु टोली नेपाल भुटानविरुद्ध भिड्दै छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो सेमिफाइनल खेल दिउँसो ३ बजे सुरु हुनेछ । समूह एको विजेता नेपाल आज भुटानलाई हराउँदै अपराजित रूपमा फाइनल खेल्न चाहन्छ ।
नेपालका लागि भुटान सहज प्रतिद्वन्द्वी भने होइन । पछिल्लो समय नियमित प्रशिक्षणमा रहेको भुटानी युवा टोली निकै लयमा छ ।
नेपालले समूह चरणमा श्रीलंकालाई १–० ले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशलाई २–१ गोलअन्तरले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
पहिलो खेलमा भारतसँग २–१ ले पराजित भुटान भने समूह चरणको दोस्रो खेलमा माल्दिभ्सलाई २–१ गोलअन्तरले नै हराएर सेमिफाइनलमा प्रवेश गरेको हो ।
भुटान भारत र मालदिभ्सविरुद्ध दुवै खेलमा १० खेलाडीमा सीमित भएको थियो ।