झापामा बालिकामाथि सामूहिक बलात्कारको आरोपमा ६ जना पक्राउ

झापाको अर्जुनधारा नगरपालिका– ५ मा बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । सात जनाले सामूहिक बलात्कार गरेको उजुरी परेसँगै घटनामा संलग्न भएको आरोपमा उनीहरु पक्राउ परेका हुन् । एक जना भने फरार रहेको प्रहरीले जनाएको छ ।

झापाका प्रहरी उपरीक्षक मिलन केसीका अनुसार शुक्रबार राति भएको एउटा घटनामा ३ र अर्को घटनामा ४ जनाको संलग्नता देखिन्छ । दुवै घटनामा संलग्न मध्ये प्रहरीले ६ जनालाई पक्राउ गरेको उनले बताए ।

प्रहरीका अनुसार अर्जुनधारा ८ को नयाँ बजारमा हटिया लाग्ने स्थानको फलैँचा र त्यसपछि होटलमा लगेर बलात्कार गरिएको देखिन्छ । बालिकालाई घुम्न जाने भन्दै बोलाएर राति करिब साढे ८ बजे हटिया लाग्ने स्थान र त्यसपछि करिब ११ बजे होटलमा पुर्‍याइएको देखिएको प्रहरीले बताएको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार संलग्न भएकामध्ये अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगर पक्राउ परेका छन् ।

उनीहरुले पहिले साँझ अर्जुनधारा–८ नयाँ बजारको बाख्रा हाटको फलैंचामा बालिकालाई बलात्कार गरेका थिए । पुनः राति ११ बजेतिर अर्जुनधारा–७ स्थित लंका होटल एन्ड रिसोर्टमा लगेर अर्जुनधारा–८ का १९ वर्षीय सुनील राजवंशी र होटल मालिकसहित थप चार जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

अर्जुनधारा–७ का २० वर्षीय सुदीप श्रेष्ठ, सुजन डाँगी र सञ्जीव तामाङले पालैपालो बलात्कार गरेको बताइएको छ । प्रहरीले घटनाबारे शनिबार साँझ मात्र जानकारी प्राप्त गरेको बताइएको छ ।

पीडित बालिकाको उपचार भइरहेको छ । घटनामा संलग्नमध्ये तामाङ फरार छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार