भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना

भारतमा बिहार राज्यको समस्तीपुरमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ ।

बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटना भएको पालिका अध्यक्ष अशोककुमार जैलसवालले जानकारी दिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार ना७ख ६४४६ नम्बरको बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको हो ।

केही भारतीय सञ्चारमाध्यमले नेपाली तीर्थयात्री सवार बसलाई एउटा ट्रकले ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमै पल्टिएको जनाएका छन् । सो दुर्घटनामा कम्तीमा २५ जना तीर्थयात्री घाइते भएका छन् । बसमा ४३ यात्री सवार रहेको जनाइएको छ । उनीहरु देवघरतर्फ गइरहेका थिए ।

घाइतेमध्ये एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइतेहरुको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा उपचार भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार