अटेर गरेपछि कलंकीको नेशनल अस्पतालको फोहोर संकलनमा महानगरको रोक

कलङ्कीका सञ्चालित नेपाल नेशनल हस्पिटलको जोखिमपूर्ण फोहोर व्यवस्थापन गएको वर्षभन्दा अझ खराब देखिएको छ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सोमबारबाट सुरु गरेको अनुगमनका क्रममा उत्पादित फोहरको व्यवस्थापनमा चरम लापरबाही देखिएको विभागका वरिष्ठ शाखा अधिकृत सानुमैया महर्जनले जानकारी दिइन् ।

वार्डहरूबाट उत्पादन भएको फोहोर राख्न भवनको पछाडिपट्टि जस्ताले बारेको टहरा छ । टहरामा चार वटा कोठा छन् । तीमध्येको पहिलो कोठामा सिरिञ्ज र बोतलहरू छरपस्ट थिए । दोस्रो कोठाको कुनामा कालो प्लाष्टिकमा पोको बाँधेर फोहोर राखिएको थियो ।

तेस्रो कोठामा धेरै फोहोरका पोका थिए । ती पोकाका बिचमा खुला छरिएको फोहोर थियो । एक व्यक्ति यो फोहोरलाई छुट्याउने काममा व्यस्त थिए । उनले कालो मास्क लगाएका थिए । यसबाहेक न पिपिई (व्यक्तिगत सुरक्षा पोसाक), न हातमा पञ्जा, न खुट्टामा बुट, न टाउको छोप्ने कुनै टोपी, उनी आफू पूर्ण असुरक्षित भएर अस्पतालको फोहर वर्गीकरण गरिरहेका थिए । उनले काम गरिरहेको ठाउँमा राखिएको अटोक्लेभ मेसिन कालो प्लाष्टिकमा बाँधिएको फोहोरको पोकाले छोपिएको थियो ।

यो अटोक्लेभ मेसिन गएको वर्षको अनुगमन हुँदा अस्पतालले बिग्रिएको जानकारी दिएको थियो । त्यसबेला तत्काल बनाएर सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका थिए । २०८० फागुनमा जोखिमपूर्ण फोहोर निर्मलीकरण गरेर व्यवस्थापन गर्छु भनेर प्रतिबद्धता थियो । यसपछि चैत १० गते गरिएको अनुगमनमा सुधार थिएन । अस्पतालले प्रतिबद्धता दोहोर्‍याएपछि अनुगमन टोली सुधारको मौका दिएर फर्किएको थियो । यसपछि चैत १६ गते अस्पतालबाट एक जना व्यवस्थापक र एक जना फोहोर व्यवस्थापनका फोकल पर्सनलाई बोलाएर स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन सम्बन्धी १ दिने तालिम प्रदान गरिएको थियो ।

यी सबै प्रयासपछि आज अनुगमनमा जाँदा गएको वर्ष बिग्रिएकोअटोक्लेभ मेसिन सञ्चालन गर्नुको सट्टा फोहोरको पोकोले पुरिएको थियो । अनुगमनका क्रममा वातावरण निरीक्षक सृष्टि श्रेष्ठले, हस्पिटलले सङ्क्रमित फोहोर व्यवस्थापनमा चरम लापरबाही गरेको प्रतिक्रिया दिइन् ।

अस्पतालले बारम्बार फोहोर व्यवस्थापनमा लापरबाही गरेपछि महानगरले अस्पतालको फोहोर संकलन रोक्ने बताएको छ ।

सम्बन्धित समाचार