वायु प्रदूषणबाट ४८ हजारभन्दा बढीको मृत्यु

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदूषणको असर न्यूनीकरण र नियन्त्रणमा मन्त्रालय संवेदनशील रहेको बताएका छन् ।

वायु प्रदूषणले बालबालिका, महिला र सीमान्तकृत समुदायमा परेको असरसम्बन्धी एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले वायु प्रदूषणको असर न्यूनीकरण र नियन्त्रणमा मन्त्रालय संवेदनशील रहेको बताएका हुन् । जलवायु परिवर्तन र वायु प्रदूषणको असर नियन्त्रण मन्त्रालयको चासोको विषय भएको मन्त्री शाहीको भनाइ छ ।

जलवायु परिवर्तनबाट सिर्जित वायु प्रदूषण प्रेरित असर न्यूनीकरण र नियन्त्रणका लागि मन्त्रालयले थप नीतिगत र संस्थागत सुधारका कामलाई प्रभावकारी ढङ्गले अघि बढाउने मन्त्री ठकुरीले बताए । वायु प्रदूषणको असरले मानवीय, जैविक र पारिस्थितिक प्रणालीलाई समेत ठुलो असर पारेकोप्रति मन्त्री ठकुरीले चिन्ता व्यक्त गरे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, काठमाडौँ महानगरपालिकाका साथै स्थानीय तह र सम्बन्ध सबै वन तथा वातावरणसँग सरोकार राख्ने पक्षसँग परामर्श छलफल गरेर जलवायु परिवर्तनले पारेका असरहरूको पहिचान र नियन्त्रणमा मन्त्रालयले प्रभावकारी कदम चाल्ने मन्त्री ठकुरीले बताए । वायु प्रदूषण न्यूनीकरण र नियन्त्रणमा सरोकार राख्ने सबै पक्षलाई सक्रिय सहभागीको अनुरोध गर्दै मन्त्रालय सहयोग र सहकार्यका लागि सधैँ तत्पर रहेको स्पष्ट पारे । अबको समय वायु प्रदूषण नियन्त्रणमा जुट्नुको विकल्प नभएको मन्त्री शाहीको भनाइ छ ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका वातावरण विभागका निमित्त प्रमुख सरिता राईले वायु प्रदूषण नियन्त्रणका निम्ति फोहोर व्यवस्थापनको काम प्रभावकारी ढङ्गबाट गरेको बताइन् । स्वच्छ काठमाडौँ निर्माण गर्न वायु प्रदूषण नियन्त्रणमा जनचेतना जगाउने काम महानगरले गरिरहेको उनले बताइन् । धूलोसहित काठमाडौँ निर्माण गर्न जुटेको राईको भनाइ छ । उनले स्वास्थ्य संस्थाको फोहर अनुगमन गर्ने गरेको र मापदण्ड अनुसार फोहोरमैला व्यवस्थापन नगर्नेलाई पहिलो चरणमा सम्झाउने र अटेर गरे कारबाही गर्ने जानकारी दिइन् ।

कार्यक्रममा वातावरण विद् भूषण तुलाधरले विश्वमा ९९ प्रतिशत मानिसहरू प्रदूषित वायु भएको ठाउँमा बस्ने जानकारी दिए । उनका अनुसार वायु प्रदूषणकै कारण प्रत्येक वर्ष ८१ लाख मानिसको मृत्यु भएको छ । यीमध्ये ९० प्रतिशत मृत्यु कम र मध्यम आय भएका देशका छन् । नेपालमा प्रत्येक वर्ष वायु प्रदूषणका कारण मृत्यु हुनेको सङ्ख्या ४८ हजार पाँच सय रहेको उनले जानकारी दिए ।

काठमाडौँमा मात्रै वर्षमा पाँच हजार बढीको मृत्यु वायु प्रदूषणका कारण भएको छ उनको भनाइ छ । उनका अनुसार काठमाडौँमा प्रदूषण विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा ८ गुणा बढी रहेको छ । वायु प्रदूषण बढेपछि सरकारले काठमाडौँ वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ स्वीकृत गरेको छ ।

नेपालमा मृत्युको मुख्य कारण र त्यसमा वायु प्रदूषणको भूमिकामध्ये ६६ प्रतिशत दीर्घकालीन फोक्सोको रोग, ३४ प्रतिशत मुटुको रोग, ३७ प्रतिशत मस्तिष्कघात, ४७ प्रतिशत तल्लो श्वासप्रश्वास प्रणालीको सङ्क्रमण, २२ प्रतिशत नवजात शिशुको रहेको वातावरण विद्ध तुलाधरले बताए ।

सन् २०२१ को तुलनामा सन् २०२२ मा नेपालको वायु प्रदूषण करिब १८ प्रतिशतले घटेको छ । तर अझै पनि नेपालको वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा ८ गुणा बढी छ । यसलाई घटाएर विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पुर्‍याउन सके हरेक नेपालीको आयु ३ दशमलव ४ वर्ष र काठमाडौँवासीको उमेर २ दशमलव ६ वर्ष बढ्ने विभिन्न अध्ययनले देखाएको तुलाधर बताउँछन् ।

स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकारीले नेपालमा जलवायु परिवर्तनको असर चरम मौसमी घटनाबाट अनुभव गर्न सकिने बताए ।

अधिकारीले भने, ‘‘विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०३० देखि २०५० को बिचमा जलवायु परिवर्तनले मलेरिया, कुपोषण, झाडापखाला र गर्मीका कारण थप दुई लाख ५० हजार मान्छेको मृत्यु हुनेछ भनी अनुमान गरिएको छ ।’’

विश्व स्वास्थ्य सङ्गठनका अनुसार वातावरणीय स्वास्थ्य समस्यामध्ये वायु प्रदूषण सन् २०१९ को सबैभन्दा ठुलो चुनौती थियो । विश्वभरि ९० प्रतिशतभन्दा बढी मानिसहरू प्रदूषित वायु भएको ठाउँमा बस्छन् । प्रदूषणकै कारणले विश्वभरि बर्सेनि ७० लाखको मृत्यु भएको छ । मृत्यु बढी हुनेमा ९० प्रतिशत कम र मध्य आय भएका देशहरूमा हुने गर्छन् ।

वायु प्रदूषणका कारण हावामा हुने किरणले फोक्सोको क्यान्सर गराई ३६ प्रतिशतको मृत्यु गराएको छ । त्यस्तै ३४ प्रतिशतको मस्तिष्क घातबाट मृत्यु भएको छ भने हृदय रोगबाट २७ प्रतिशतको मृत्यु भएको सरकारी तथ्याङ्क भएको डा अधिकारीले बताए ।

कान्ति बाल अस्पतालका चिकित्सक डा. जगतजीवन घिमिरेले साउथ एसियामै नेपालका बालबालिका वायु प्रदूषणको बढी जोखिममा परेको बताए । वायु प्रदूषण उच्च हुँदा बालबालिकामा दीर्घ र तत्काल असर पर्ने उनको तर्क छ ।

२०२४ स्टेट अफ ग्लोबल एयर अनुसार, वायु प्रदूषणका कारण ६ वर्ष मुनिका सात लाख नौ हजार बालबालिकाको मृत्यु भएको थियो । तथ्याङ्क अनुसार पाँच वर्ष मुनिका बालबालिकामा हुने सबै विश्वव्यापी मृत्युको १५ प्रतिशतलाई प्रतिनिधित्व गर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार