बाँकेको नरैनापुरमा झाडापखालाबाट एकैदिन चार जनाको मृत्यु, १० जना बिरामी

बाँकेको नरैनापुरमा झाडापखालाका कारण आइतबार एकै दिन चार जनाको मृत्यु भएको छ । नरैनापुर(३ गेगली गाउँमा एक्कासि फैलिएको झाडा पखालाबाट गाउँका १० जना बिरामी परेका छन् ।

भारतीय सिमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको जानकारी आउनासाथ स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहले जानकारी गराए ।

उनका अनुसार हरिराम पासीको २५ वर्षीया श्रीमती रुसा पासी र उनकी डेढ वर्षकि छोरी नन्दनी पासी, मोहन लाल पासीको ६० वर्षीया श्रीमती शान्ति पासी र सखावत अलिको १० वर्षका छोरा यूसुफको झाडापाखाकै कारण मृत्यु भएको हो ।

अत्यधिक गर्मी र खानेपानीमा केही गडबडी भएका कारण सो गाउँमा झाडा पखाला फैलिएको हुनसक्ने स्वाथ्यकर्मीको भनाइ छ । फोहोर पानीका कारण उनीहरूमा झाडापखाला लागेको र मृत्यु भएको हुनसक्ने बताइएको छ ।

यसैगरी, भेरी अस्पतालमा पनि नेपालगन्जका ३ जना झाडापखालाका बिरामीको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश थापाले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार