यस वर्ष राष्ट्र बैंकले दशैंमा नयाँ होइन सुकिला नोट साट्ने

यस वर्ष दशैँमा सर्वसाधारणले नयाँ नोट नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोखरेलले पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने बताए । उनका अनुसार राष्ट्र बैंकले चुच्चे नक्सासहितको नोट छाप्ने प्रक्रिया अगाडि बढाइसकेकोले दशैँका लागि भने सुकिला नोटहरुको प्रयोगलाई नै जोड दिएको हो ।

दशैंतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यस पटक पनि सुविधा दिनेछ । यस पटक पनि प्रतिव्यक्ति १८ हजार ५०० कै हाराहारीमा नोट सहटी गरिने राष्ट्र बैंकले जनाएको छ ।

बैंकले लिम्पियाधुरा र कालापानीसहितको नयाँ चुच्चे नक्सा भएका नोट बढीमा १ वर्षभित्र बजारमा ल्याउने भएको छ । जसका लागि नोट छपाइको प्रक्रिया पनि अगाडि बढाइसकेको छ । राष्ट्र बैंकले सुरुमा १ सय रुपैयाँ दरका नोटहरुमा चुच्चे नक्सासहित छाप्नेछ । एक सय रुपैयाँका नोटहरुको मौज्दात अन्यको तुलनामा कम भएपछि मन्त्रिपरिषदबाटै नयाँ नक्सासहितको नोट छपाइको निर्णय पारित गरिएको थियो ।

नेपाली बजारमा अहिले ६ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार