पलेशालाई भव्य स्वागतको तयारी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली खेलकुद इतिहासमा पहिलो पटक पारा ओलम्पिकमा पदक प्राप्त गर्न सफल खेलाडी पलेशा गोवर्धनलाई भव्य स्वागत गर्ने तयारी गरेको छ ।

फ्रान्सको पेरिसमा जारी पारा ओलम्पिकमा सहभागि भएर पलेशा बुधबार बिहान स्वदेश फर्कदै छिन् । राखेपले पलेशासहित पारा टोलीको स्वागतको तयारी गरेको हो । राखेपले पलेशालाई त्रिभुवन विमानस्थलदेखि काठमाडौँ शहर परिक्रमा गराएर राखेप परिसरमा स्वागत गर्न लागेको जनाएको छ ।

पलेशाले के–४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजीमुनि सर्वियाकी मारिया मिसेभलाई १५–८ ले हराउँदै काँस्य जितेकी हुन् । सन् १९६४ को टोकियो ओलम्पिक तथा सन् २००४ को एथेन्स पारा ओलम्पिकदेखि नेपालले सहभागिता जनाउँदै आए पनि पदकविहीन थियो ।

पेरिस पारा ओलम्पिकमा पलेशाले हात पारेको उपलब्धिले सिङ्गो देशलाई गौरवान्वित बनाएकोले भव्य स्वागतको तयारी गरिएको पनि राखेपद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार