मुना हत्याका अभियुक्त बबीलाई धरौटीमा छोड्न अस्वीकार

अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टनमा नेपाली छात्रा मुना पाण्डेको हत्या अभियोगमा पक्राउ परेका बब्बीसिंह शाहलाई मंगलबार अदालत पेस गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबार पनि अदालतले अभियुक्त ५१ वर्षीय शाहलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ ।

मुनाको हत्या भएको केही दिनपछि पक्राउ पर्दा पनि शाहले रगतका दाग लागेका कपडा नै लगाएको मंगलबार अदालती सुनुवाइका क्रममा अभियोजकहरूले बताए । अब अर्को पेशी तीन महिनापछि डिसेम्वर ३, २०२४ मा तोकिएको छ ।

मुनालाई शरीरमा तीनपटक र टाउकोको पछाडि एकपटक गोली हानेको अभियोजकहरूले अदालतसमक्ष बताए । यही अगस्ट २६ तारिख साँझ पाण्डे आफ्नै अपार्टमेन्टको ओछ्यानमै गोली लागेको अवस्थामा मृत भेटिइएकी थिइन् ।

घटना अनुसन्धानका क्रममा ह्युस्टन प्रहरीले मुना एक्लै बस्ने गरेको अपार्टमेन्टबाट एकजना संदिग्ध पुरुष बाहिरिँदै गरेको सीसीटीभी फुटेज फेला परेको थियो।

त्यही आधारमा प्रहरीले शाहलाई अगस्ट २८ राति ८ बजे उत्तरपश्चिम ह्युस्टन ट्राफिक स्टपबँट पक्राउ गरेको थियो । हाल उनलाई ह्यारिस काउन्टी जेलमा राखिएको छ ।

अभियुक्त शाहविरुद्ध २६२औँ स्टेट डिस्ट्रिक्ट कोर्टमा जघन्य हत्याको अभियोग दायर गरिएको छ।

यसै बीच मुनाकी आमा अनिता अधिकारी पाण्डेले अमेरिका आउन भिसा पाएकी छन् भने मुनाको फ्यूनरलका लागि टेक्सस सरकारबाट प्राप्त हुन सक्ने खर्च भुक्तानीका लागि समेत ह्युस्टन पुलिस डिपार्टमेण्टले आवश्यक प्रक्रिया सुरु गरिसकेको समेत जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार