अमेरिकामा बेपत्ता ममताका पति नरेशलाई बिहीबार पुनः अदालत लगिने

अमेरिकाको भर्जिनियामा एक महिनादेखि बेपत्ता नेपाली नर्स ममता काफ्लेको शव लुकाएको आरोपमा पक्राउ परेका श्रीमान् नरेश भट्टलाई बिहीबार पुनः अदालत पेस गरिने भएको छ। ग्रान्ड जुरीसमेत रद्द गर्न न्यायाधीशसमक्ष अनुरोध गर्दै नरेशका वकिलबाट दायर गरिएको मोसनका सन्दर्भमा बिहीबार सुनुवाइ हुँदै छ।

बिहीबार बिहान १० बजेका लागि सुनुवाइमा अभियुक्त नरेशलाई पनि उपस्थित गराइने भएको हो। अक्टोबर २४ का लागि तोकिएको प्रारम्भिक सुनुवाइ रद्द गर्न नरेश पक्षबाट दायर गरिएको मोसन गत अगस्ट २९ मा अदालतले स्वीकार गरेपछि अक्टोबर ७ का लागि ग्रान्ड जुरी तोकिएको छ।

प्रिन्स विलियम काउन्टी जुडिसियल सेन्टरको कोर्टरुम २ मा त्यस दिन बिहान पौने ९ बजेका लागि ग्रान्ड जुरी तय भएको हो।

यसपछि अक्टोबर ८ का लागि कोर्टरुम ४ मा अर्को सुनुवाइ तोकिएको छ। तर ग्रान्ड जुरी रद्दको माग गरिएको मोसन पनि अदालतले स्वीकार गरेको खण्डमा मुद्दा अझ छिटो प्रक्रियामा जानेछ।

गत अगस्ट २९ को सुनुवाइमा पनि नरेशलाई अदालत उपस्थित गराइएको थियो। त्यस दिन नरेश पक्षले अदालती प्रक्रियालाई गति दिन प्रारम्भिक सुनुवाइ रद्द गर्न प्रस्ताव गरेको थियो। यसलाई अदालतले स्वीकार गरेपछि मुद्दा सीधै अर्को चरण अर्थात् ग्रान्ड जुरी सुनुवाइमा प्रवेश गरेको हो।

अमेरिकाको भर्जिनियाअन्तर्गत मनासस पार्कस्थित घरबाटै जुलाई ३१ देखि बेपत्ता ममता काफ्ले अझै भेटिएकी छैनन्। उनलाई मारिसकिएको निष्कर्षमा पुगेको प्रहरीले उनको शव खोजी जारी राखेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार