जाजरकोटमा पहिरोले घर पुरिँदा वडासदस्यका दम्पती बेपत्ता

जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरो खस्दा वडा सदस्यका दम्पती बेपत्ता भएका छन् । गएराति अविरल वर्षासँगै आएको पहिरोले घर पुरिदाँ महिला वडा सदस्यका दम्पती बेपत्ता भएका हुन् ।

बारेकोट गाउँपालिका–६ का वडाध्यक्ष डम्बरबहादुर महताराले महिला वडा सदस्य प्रेमकुमारी चलाउनेको घर पहिरोले पुरिँदा पतिपत्नी नै बेपत्ता भएका जानकारी दिए । ‘गए राति पहिरोले घर पुरिँदा वडा सदस्य प्रेमकुमारी चलाउने र उहाँका श्रीमान मानबहादुर चलाउने बेपत्ता हुनु भएको छ्,’ अध्यक्ष महताराले भने ।

पहिरोमा पुरिएकी उनीहरुकी ११ वर्षीय छोरीको उद्धार गरेर अहिले उपचारका लागि अस्पताल लगिएको छ। अध्यक्ष महताराले वडासदस्य दम्पतीको अवस्था अझै अज्ञात रहेको बताए । स्थानीय जनप्रतिनिधि, स्थानीयवासी र सुरक्षाकर्मीको टोलीले बेपत्ताको खोजी गरिरहेको छ ।

वडाध्यक्ष महताराका अनुसार बेपत्ता दम्पतीका ११ वर्षीया छोरीलाई घाइते अवस्थामा उद्धार गरेर अस्पताल लगिएको हाे । तर, त्यो क्षेत्रमा यातायातको सुविधा नहुँदा बोकेरै उनलाई उपचारका लागि लगिएको छ ।

सोही घरमा बास बसेकी वडासदस्य चलाउनेका जेठाजुकी छोरीलाई भने केही भएको छैन् । उनी सकुशल छन् । घाइतेलाई अस्पताल पुर्‍याउन हेलिकप्टर मगाइएको उनले बताए। घर जीर्ण अवस्थाको रहेकाले पहिरोका कारण भत्ताभुंग भएको छ ।

गत कार्तिकमा गएको भूकम्पका कारण चलाउनेको घर चर्किएको थियो। सोही कारण उनीहरुको परिवार असार र साउन महिनाभर त्यो घरमा नबसेर बाहिर सुरक्षीत टाउँमा बसेका वडाध्यक्ष महताराले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार