एजेन्डामा आधारित हुँदा सबैसँग मिल्न तयार थियौँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर अघि बढ्दा आफूहरूलाई फाइदा पुगेको टिप्पणी गरेका छन्। आइतबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रच्ण्डले अहिले आफूहरूका लागि पार्टी पुनर्निमाण गर्ने राम्रो अवसर बनेको दाबी गरे। ‘हामीले नेपाली कांग्रेस र नेकपा एमालेलाई एक अर्थमा धन्यवाद दिएका छौँ। उहाँहरूले हाम्रो पार्टी पुनर्निमाण गर्ने राम्रो अवसर दिनुभयो। उहाँहरूले हामीलाई पार्टी पुनर्निमाणको राम्रो अवसर दिनुभयो,’ अध्यक्ष प्रचण्डले भने।

साथै, उनले अहिले तत्काल सरकार बनाउने कुरामा माओवादी केन्द्रको ध्यान नभएको उनले प्रष्ट पारे। ‘अहिले सरकार बनाउने कुरा हाम्रो ध्यानमा छैन। अहिलेको सरकार नेपाली कांग्रेस र एमालेले जुन मान्यतामा आधारित भएर, सोझो भाषामा भन्दा भ्रष्टाचारविरोधी अभियान चलाउँदै जाँदा त्यसबाट बच्न र भ्रष्टाचारीलाई बचाउन बन्यो, हाम्रो आपत्ति त्यहाँ हो,’ अध्यक्ष प्रचण्डले भने।

साथै, उनले एजेन्डामा आधारित भएर अघि बड्दा माओवादी केन्द्र जोसँग पनि मिल्न तयार रहेको जिकिर गरे। ‘एजेन्डामा आधारित भएर जाँदा त हामी सबैसँग मिल्न तयार नै थियौँ नि,’ सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा अध्यक्ष प्रचण्डले भने।

उनले संविधान संशोधनको विरोधी आफ्नो पार्टी नभएको र समानुपातिक, समावेशी लगायतका मुद्दामा आफूहरू प्रष्ट भएको पनि बताए। ‘हामी संविधान संशोधनको विरोधी होइनौँ। हामी संविधान सभामा नै हाम्रा केही रिजर्भेसनहरू, नोट अफ डिसेन्ट राखेका थियौँ। ती कुराहरूमा संविधान संशोधन हुनु उपयुक्त ठान्छौँ। तर, संविधान संशोधन नेपाली जनताले संघर्ष र बलिदानबाट ल्याएको उपलब्धि उल्ट्याउने हिसाबले हुन हुँदैन। प्रतिगामी किसिमले हुन हुँदैन। जनताले पाएका अधिकार खोस्ने किसिमले हुन हुँदैन,’ अध्यक्ष प्रचण्डले भने।

सोही प्रसंगमा उनले अघि थपे, ‘समानुपातिक र समावेशी उत्पिडित वर्ग समुदायले पाएको सबैभन्दा ठूलो अधिकार हो। त्यो अधिकार कुनै पनि तरिकाले कमजोर पार्ने काम विल्कुल नेपाली जनता र हामीलाई सैह्य हुँदैन।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार