सुन्दरीजल घटना : परपुरुषसँग सम्बन्धको आशंकाका प्रेमीले गरे हत्या, दुईजना पक्राउ

प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा उनकै प्रेमीले महिलाको हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको बताएको छ। सिराहा घर भई हाल काठमाडौँको बसुन्धारा बस्ने राम दुलारीको शव सुन्दरीजलस्थित ढुंगाको चेपभित्र गत बिहीबार भेटिएको थियो।

उनको हत्या आरोपमा प्रहरीले सर्लाही चक्रघट्टा गाउँपालिका-३ बस्ने वर्ष ४० को रामविनय महरा र सर्लाहीकै बसबरिया गाउँपालिका-५ घर भई हाल बसुन्धारा ३ बस्ने वर्ष २४ का सन्तोष राम महरालाई गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूबाट प्रेम सम्बन्धकै कारण ती महिलाको हत्या भएको खुलेको हो।

अभियुक्त रामविनय महराले खुलाएअनुसार सिराहा घर भई हाल काठमाडौँ–३ बसुन्धारा बस्ने राम दुलारीसँग उनको २ वर्षदेखि प्रेम सम्बन्ध थियो। तर रामदुलारीले अन्य पुरुषसँग पनि सम्बन्धमा रहेको आशंका भएपछि भर्दै नाताका सन्तोष महरासँग मिलेर उनको हत्या गरेको रामविनयले बताएका छन्।

रामविनय महरा पुलमुनि जुत्ता सिलाउने काम गर्थे भने राम दुलारी मजदुरी गर्थिन्। ‘निज रामविनय महरा नाताले सन्तोष महराको फुपाजु रहेको र दुवैजना मिलेर राम दुलारीलाई घटनास्थलसम्म लगी उचाइँबाट धकेली घाइते अवस्थामा हुँदा दुवैजनाले पालैपालो ढुंगाले टाउकोमा पटकपटक प्रहार गरी हत्या गरेको खुलेको छ’, एसपी अधिकारीले भने।

तर घटनाको विस्तृत अनुसन्धान जारी रहेको उनले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार