आत्मसमर्पणपछि कारागार चलान भए कांग्रेस लुम्बिनी सांसद केसी

काठमाडौँ । लुम्बिनी प्रदेशका सांसद धनबहादुर (डीबी) केसीले आत्मसमर्पण गरेका छन् । रुकुम पूर्व  जिल्ला अदालत पुगेर केसीले आइतबार दिउँसो आत्मसमर्पण गरेका हुन्।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरका प्रवक्ता एसएसपी माधव श्रेष्ठले प्रदेश सांसद केसी आफै अदालतमा उपस्थित भएको जानकारी दिए। उनलाई अदालतले तोकिएको सजाय भुक्तान गर्न कारागार पठाएको छ ।

रुकुम पूर्वका १(ख)बाट निर्वाचित केसीलाई जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाए पनि सजाय भुक्तान नभएको पत्र प्रहरीलाई पठाएपछि फरार रहेका थिए ।

२०४८ सालमा रुकुम जिल्ला अदालतमा चलेको सरकारी कागजात किर्तेको मुद्दामा केसीलाई दोषी ठहर गरिएको थियो । सुरुमा १९ दिन थुनामा बसे पनि पछि केसी अदालतको आदेश बमोजिम धरौटी बुझाएर रिहा भएका थिए । पछि अदालतले दोषी ठहर गरेपछि जरिवानाको रकम धरौटीबाट लिइएको भए पनि उनले कैद सजाय भुक्तान गर्न बाँकी नै थियो ।

केसीकी जेठी श्रीमती राधा केसीविरुद्ध साविकको रुकुम जिल्ला अदालतमा अंशसहितको सम्बन्धविच्छेद मुद्दा चलेको थियो । उक्त मुद्दाका क्रममा केसीले सरकारी कागजात किर्ते गरी पेस गरेको पाइएपछि जेठी श्रीमती राधाकै जाहेरीका आधारमा प्रहरीले पक्राउ गरी केसीविरुद्ध किर्ते गरेको कसुरमा मुद्दा चलेको थियो ।

पछि रुकुम जिल्ला टुक्य्राएर रुकुम पूर्व र रुकुम पश्चिम जिल्लामा विभाजन गरिएको थियो । रुकुम जिल्लालाई दुई जिल्लामा विभाजन गरेपछि २०७५ साल वैशाख ३१ गते रुकुम–पश्चिम जिल्ला अदालतले सांसद केसीविरुद्ध २०४८ साल असार ९ गते भएको फैसला कार्यान्वयन नभएको सम्बन्धमा रुकुम पूर्व जिल्ला अदालतलाई पत्राचार गरेको थियो ।

त्यसपछि कार्यान्वयन हुन नसकेको फैसलाका सम्बन्धमा कार्यान्वयनका लागि रुकुमकोट जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वलाई पत्राचार गरेको थियो । त्यसपछि मात्रै उक्त व्यक्ति हालका प्रदेशसभा सदस्य डीबी केसी भन्ने धनबहादुर केसी भन्ने खुलेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार