रुकुम पश्चिममा खोलाले बगाउँदा दुई जनाको मृत्यु

रुकुमपश्चिममा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ६ र ७ को सिमानामा रहेको रम्माखोलाले बगाउँदा मोटरसाइकलमा सवार एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार मुसीकोट नगरपालिका ४ निवासी ५० वर्षीया सर्जन पुन र वडा नम्वर ६ निवासी अन्दाजी ३२ वर्षीया निर्मला केसी थापाको मृत्यु भएको हो ।

रा ६ प २९६१ नम्बरको मोटरसाइकलमा साँखबाट कानेबाङतर्फ जाँदै गर्दा आइतबार बेलुका करिब साढे आठ बजे खोलाले बगाएको र सोमबार बिहान मात्र थाहा भएको प्रहरीले जनाएको छ ।

सर्जनको शव खोला तर्ने स्थानबाट करिब २० मिटर तल मोटरसाइकलले च्यापेको अवस्थामा र निर्मलाको शव करिब तीन सय मिटर तल शरीरको आधा भाग माटोले पुरिएको अवस्थामा फेला परेको थियो ।

घटनास्थलको मुचुल्का गरी शवलाई सदरमुकाम ल्याइएको छ । शव पोष्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार