सुर्खेतको वीरेन्द्रनगर–१० बामेखोलाका शोभा बस्नेतले विगत लामो समयदेखि कृषि छिन् । उनले ५ कठ्ठा जग्गामा तरकारीखेती र १५ कट्टामा धानखेती गर्दै आएकी छन् ।
खेतीपाती गर्नअघि शोभाले माटो परीक्षण भन्ने त सुनेकी थिइन्, तर किन गरिन्छ भन्ने थाहा थिएन । भन्छिन्, ‘माटो परीक्षण गरेर के फाइदा होला र ? भन्ने लागेको थियो । वीरेन्द्रनगरमा माटो परीक्षणसम्बन्धी तालिम सञ्चालन भएपछि मेरो सोच नै बदलियो ।’
शोभाले माटो परीक्षण गरेपछि माटोमा भएको उर्वरा शक्तिको अवस्था र माटोमा लाग्ने रोगबारे सिकेपछि उनले आफ्नो जमिनको माटो परीक्षण गराइन् । ‘पहिले मलाई माटो परीक्षाबारे केही पनि थाहा थिएन, उत्पादन बढाउन माटो परीक्षण अनिवार्य रहेछ भन्ने तालिमबाट सिँके’, उनले भनिन्, ‘माटोको अवस्था कस्तो छ ? माटोमा समस्या केछ ? भन्ने हेरेर मात्रै थाहा हुँदोरहेनछ, त्यसपछि माटो परीक्षण गरायौँ, हाम्रो जग्गामा मोटासको मात्रा एकदम कम र युरियाको मात्रा पनि कम देखिएपछि त्यही आधारमा माटोमा मलको प्रयोग गर्न थालेका छौँ, उत्पादन बढ्ने अपेक्षा लिएका छौँ ।’
पहिले आफूहरूले तरकारीखेती, धानीखेती गर्ने तरिका पनि थाहा नपाएको जनाउँदै उनले अहिले खेती गर्ने सीप सिकेको बताउँछिन् । बस्नेतमात्र होइन, सुर्खेत भेरीगङ्गा–८ का निलम विक पनि किसानले माटो परीक्षण गर्न थालेपछि उत्पादकत्व बढाउन सहज भएको बताउँछिन् । उनी सफल उद्यमी सहकारी संस्थाको अध्यक्षसमेत हुन् ।
यो सहकारीले किसानलाई मल बीउ उपलब्ध गराउनेदेखि माटो परीक्षणलगायतमा सहजीकरण गर्दै आएको छ । उनी भन्छिन्, ‘माटो परीक्षणको लागि स्थानीय सरकारले सहयोग गरेपछि माटोको अवस्था के छ र कुन ठाउँमा कस्तो उर्वराशक्ति छ भन्ने थाहा भयो, माटोमा कुन–कुन तत्व छ, नाइट्रोजनको मात्रा के छ, फसपोरसको मात्रा के छ भन्ने जानकारी भएपछि किसानलाई त्यहीअनुसारको माटोको उपचारसँगै खेती पनि त्यहीअनुसार गर्न थालिएको छ ।’
पञ्चपुरी नगरपालिका–५ का सूर्यसागर शाहीले पनि माटो परीक्षण गराएका छन् । अहिले आफ्नो जग्गाको माटोमा के–के कमी रहेछ भन्ने थाहा पाएपछि त्यहीअनुसारको उपचार विधिमा आफू लागेको शाही बताउँछन् । ‘माटो परीक्षणपछि उर्वराशक्ति बढाउन के–के प्रयोग गर्ने भन्ने विषयमा कृषि प्राविधिकले सिकाउनु भएपछि अहिले उत्पादन राम्रो भएको छ’, उनी भन्छन् ।
माटो परीक्षणको कार्ड जिल्लाका किसानको खेतबारीको माटो परीक्षण हुन थालेपछि आम्दानीमा बढोत्तरी भएको छ । पञ्चपुरी नगरपालिकाभित्र कुन क्षेत्रमा कस्तो माटो छ भनेर जाँच गरी नगरपालिकाको नक्सामा समेत राखिएको छ । गत वर्ष र यस वर्ष गरेर माटोका दुई सय १० नमूना जाँच गरी त्यसको नतिजाका अधारमा नगरपालिकाको नक्सामा समेत राखिएको माटो परीक्षणमा सहजीकरण गर्दै आइरहेको नगरपालिकामा रहेको धनबोट कृषि बहुउद्देश्य सहकारी संस्थाका कृषि प्राविधिक मानबहादुर वयकले बताए ।
‘हामीले सिमिट परियोजनाको सहयोगमा दुई सय १० किसानको माटो परीक्षणका लागि काठमाडौँ पठायौँ, त्यसको नतिजा आइसकेको छ, त्यही आधारमा नगरपालिकाले आफ्नो नक्सामा समावेश गरेको छ’, भन्छन्, ‘साथै किसानलाई माटो परीक्षणको स्वास्थ्य कार्ड पनि वितरण गरिसकेका छौँ ।’
किसानले जग्गाको माटोको अवस्था के छ भनेर आफैँ स्वास्थ्य कार्ड हेरेर थाहा पाउने जनाउँदै नगरपालिकाले पनि कुन क्षेत्रको माटोमा के उत्पादन हुन्छ ? र माटोको उर्वराशक्ति बढाउन के गर्नुपर्छ भनेर योजना बनाउन थालेको कृषि प्राविधिक वयक बताउँछन् ।
माटो जाँचबाट किसानको बारीमा फसपोरस, नाइट्रोजनलगायत माटोको उत्पादकत्वको अवस्थाबारे जानकारी दिएर त्यहीअनुसारको मलको प्रयोग गर्न सिफारिस गरिएको उनको भनाइ छ । सुर्खेत वीरेन्द्रनगरमा जनचेतना कृषि सहकारीमार्फत परियोजनाले काम गर्दै आएको छ ।
वीरेन्द्रनगरका किसानको खेतबारीको पनि माटो परीक्षणसँगै स्वास्थ्य कार्ड बनाउन थालिएको छ । सहकारी संस्थाका कृषि प्राविधिक शिव अधिकारी भन्छन्, ‘माटोको नमूना सङ्कलन गरेर माटो सेवा प्रयोगशालाबाट हुन्छ, त्यसका बारेमा किसानलाई जानकारी गाराएका छौँ, त्यसका साथै माटो परीक्षणपछिको रिपोर्ट स्वास्थ्य कार्डमा राखिन्छ, यसले किसाले आफ्नो जग्गाको माटोको अवस्था थाहा पाउनेछन् ।’
अधिकारीले स्वास्थ्य कार्डमा राखिएको माटोको रिपोर्टका आधारमा आफूहरूले उत्पादकत्व बढाउन सिफारिस गर्ने गरिएको बताउँछन् । पञ्चपुरी नगरपालिकाले पनि पछिल्लो उत्पादकत्वको अवस्थाका बारेमा किसानलाई जानकारी दिन थालेका छन् ।
माटो जाँच गरी स्वास्थ्य कार्ड उपलब्ध गराउने तयारी गरिएको छ । माटोको अवस्था हेरेर पालिकाबाट कृषिसम्बन्धीका योजना बनाइने नगरपालिका कृषि उपशाखा प्रमुख दीपेन्द्र न्यौपाने बताउँछन् । पछिल्लो समय सुर्खेतका किसानलाई मल, बीउसँगै कृषिसम्बन्धी तालिम दिन थालेपछि उत्पादनमा समेत वृद्धि भएको छ ।