जुम्लाका उत्पादन, कैलालीमा व्यापार

कालिकोटकी हंशिला बमलाई हिजो आज कैलालीमा स्याउ बेच्न व्यस्त छिन् । माइतीघर जुम्ला भएकी हंशिला त्यहाँका स्याउ कैलालीमा बेच्छिन् । १३ वर्षदेखि यामअनुसार फलफूलको व्यापार गर्दै आएकी उनलाई व्यापार सुरु गरेपछि पछाडि फर्केर हेर्नुपरेको छैन । त्यही व्यापारबाट उनले कैलालीमा घर र जग्गा जोडेकी छन् भने घरको सबै खर्च धान्ने माध्यम पनि फलफूल व्यापार नै बनेको छ ।

“श्रीमान् गुमाएपछिको अभाव र समाजभित्रको असहज परिस्थितिको मैले बुझेकी छु । छोराछोरीको पढाइलेखाइका लागि मैले केही गर्नुपर्ने थियो”, उनले भनिन्, “मैले जुम्लामा उत्पादन लिएर व्यापार सुरु गरेँ । व्यापारले मेरा आवश्यकता पूरा गर्यो ।” यो वर्ष उनले जुम्लाबाट पाँच ट्रक स्याउ कैलाली ल्याएको बताइन् । मागका आधारमा देशका अन्य जिल्लामा उनले स्याउलगायत जुम्लाका उत्पादन आपूर्ति गरिरहेकी छन् ।

जुम्लामा उत्पादित स्याउ प्रतिकेजी रु ७० मा खरिद गरेर तराई पुर्याएपछि प्रतिकेजी रु एक सयदेखि एक सय २० मा बिक्री गर्ने गरेको उनले बताउँछिन् । “एक ट्रक स्याउ ल्याउन रु एक लाखभन्दा बढी खर्च हुन्छ”, हंशिला भन्छिन्, “ जुम्लाका किसानले स्याउको मूल्य पाएका छैनन् । ढुवानी खर्च अधिक छ” उनले स्याउसँगै हिउँदयाममा सिमी, मकै, आलुलगायत उत्पादन पनि बेच्ने गरेकी छन् । हंशिलाका भाइ र बहिनीले उनलाई साथ दिएका छन् । हंशिला मात्र होइन कयौँले स्याउको व्यापारबाट मनग्ये आम्दानी गरेका छन् ।

कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादन भएका स्याउ कालिकोटका रामु न्यौपानेले पनि तराई ल्याउने गरेका छन् । चार महिनादेखि स्याउको व्यापारमा लागेका उनी हरेक साता जुम्ला पुग्नेगरेको बताउँछन् । “चार महिनादेखि घर गएको छैन, स्याउ ढुवानी दैनिकी बनेको छ”, उनले भने, “मसँग आफ्नै गाडी छ । आफैँ गाडी चलाउँछु । जुम्ली उत्पादन खरिद गर्न त्यता गइरहन्छु ।” उनले सडक सञ्जाल नभएका कारण बगैँचामा नै स्याउ कुहिने गुनासो गरे । कालिकोटको पलाता गाउँपालिकामा अझै सवारीसाधन पुगेको छैन । त्यहाँ रामुले दुई हजार भन्दा बढी स्याउका बोट रोपेका छन् । “मेरो गाउँमा मात्र सयौँ क्विन्टल स्याउ उत्पादन भएको छ । बजार पु¥याउन यातायातको सुविधा छैन । भरियालाई बोकाउँदा बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन”, उनले भने, “कर्णालीमा सुन भएर के गर्ने त्यसको महत्व राज्यलाई अझै बुझेको छैन ।”

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार