सुनको मूल्यमा फेरि ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो ?

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ ।

लगातार बढिरहेको सुनको मूल्य मंगलबारको तुलनामा आज प्रतितोला एक हजार रूपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

यसअघि गत भदौ २१ गते प्रतितोला एक लाख ५३ हजार तीन रूपैयाँमा हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो ।

आज सुन प्रतितोला एक लाख ५३ हजार चार सय रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक सय रूपैयाँ बढी हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ८० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार