कोभिडपछि ऋणको गुणस्तरमा सुधार र डिजिटल बैंकिङ फस्टाएको छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर डा. महाप्रसाद अधिकारीले कोभिडपछि ऋणको गुणस्तरमा सुधार हुनुका साथै डिजिटल बैंकिङ फस्टाएको बताएका छन् ।

नेपाल खुला विश्वविद्यालय र कार्डिफ विश्वविद्यालयद्वारा बिहीबार ललितपुरमा आयोजित ‘अर्थशास्त्र, वित्त र सम्बन्धित विषयमा आधारित अन्तर्राष्ट्रिय सम्मेलन’मा  गभर्नर अधिकारीले उक्त कुरा बताएका हुन् ।

नेपालको वित्तीय सुधारसँगै राष्ट्र बैंकले मौद्रिक नीतिमा महत्वपूर्ण परिचालन सुधारको यात्रा अघि बढाएको उनको भनाइ छ । ‘२०१६/१७ मा ब्याज दर करिडोरको सुरुवात र २०२०/२१ मा रिजर्भ लक्ष्यबाट ब्याज दर लक्ष्यतिर सर्दै मौद्रिक नीति प्रसारणको प्रभावकारिता बढाउने उद्देश्यले परिचालन सुधार क्रमशः हुँदै आएको छ । प्रभावकारी तरलता व्यवस्थापनका लागि २०२३/२४ मा स्थायी निक्षेप सुविधा, हालैका नीतिगत सुधार, मौद्रिक नीति सञ्चालनको आधुनिकीकरण, ऋणको गुणस्तर अभिवृद्धि, डिजिटल बैंकिङ र फिनटेकलाई जोड दिने, आधुनिक भुक्तानी प्रणालीको विकास र त्यसलाई विश्व बजारमा एकीकरण गर्ने र वित्तीय सुदृढीकरणका उपायलाई निरन्तरता दिनेमा हाम्रा प्रयास केन्द्रित छन्,’ उनले भने ।

कोभिडपछि खस्किएको अर्थतन्त्र क्रमशः सुधार हुँदै पछिल्लो दुई वर्षमा निर्माण, उद्योग र व्यापार क्षेत्रले बढी प्रगति गरेको गभर्नर अधिकारीले बताए । दिगो आर्थिक वृद्धिलाई परलक्षित गर्दे राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने गरेको र सम्मेलनले नेपालको आर्थिक तथा मौद्रिक क्षेत्रको विश्लेषणात्मक अध्ययन मा टेवा दिँदै नीति निर्माणमा सधाउने उनले बताए ।

विकसित विश्वव्यापी परिदृश्यमा नेपालको समष्टि आर्थिक अवस्था, दिगो र समावेशी वृद्धि सुनिश्चित गर्न सुधार गर्दै लचिलो वित्तीय क्षेत्र निर्माण गर्न आवश्यक रहेको उनले औंल्याए । उनले विश्व बजारको अन्तरसम्बन्धलाई आर्थिक गतिविधिमा विश्वव्यापी झट्काको प्रभावलाई कम गर्न नीतिगत मेलमिलाप आवश्यक रहेको बताए ।

सम्मेलनले वित्तीय स्थिरता, मौद्रिक नीति र समग्र वित्तीय विकासमा प्रमाणमा आधारित नीतिगत अन्तरदृष्टि प्रदान गर्ने गभर्नर अधिकारीले विश्वास व्यक्त गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार