वीर अस्पतालमा अत्याधुनिक जलन उपचार केन्द्र सञ्चालनमा

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले शुक्रबारबाट जलनका बिरामीलाई सेवा दिन थालेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गरिएको हो ।

सरकारले क्यान्सर, मिर्गौलालगायतका प्राणघातक रोगका बिरामीलाई उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । अब जलनका बिरामीका लागि पनि त्यो व्यवस्था तत्काल लागू गर्ने मन्त्री पौडेलले प्रतिबद्धता जनाए ।

उनले उपचारको अभावमा जलनका बिरामीको मृत्यु हुने गरेकाले सरकारले त्यस्ता बिरामीको उपचारका लागि सो केन्द्र स्थापना गरेको उनको भनाइ छ । मन्त्री पौडेलले जलन रोगीको उपचारमा पनि आर्थिक सहायता दिनका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसकिएको पनि जानकारी दिए ।

२०७२ वैशाखको भूकम्पपछि बन्द रहेको बर्न वार्डमा जलनका सामान्य बिरामीलाई उपचार गर्न अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता थियो । अस्पतालका निर्देशक डा. सन्तोष पौडेलका अनुसार उपचार केन्द्रमा १० जनरल बेड, ५ आईसीयू र तीनवटा अप्रेसन थिएटर छन् ।

नेपालमा जलनको उपचारको सुरूवात वरिष्ठ प्लाष्टिक सर्जन डा. केशवदास जोशीले २०४३ सालदेखि वीर अस्पतालमा सुरू गरेका थिए । उनकै नामबाट अस्पतालले केन्द्रको नामकरण गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार