आज केही प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित छ । देशभर मनसुनी वायुको प्रभावसँगै बङ्गालको खाडीको उत्तरपूर्व तर्फ रहेको न्यूनचापिय प्रणालीकोसमेत आंशिक प्रभाव देखिएको छ ।

यतिबेला (शनिबार बिहान) कोशी र मधेस प्रदेशको मौसम साधारणतया बदली छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम साधारणतया बदलीको अवस्थामा छ ।

आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ ।

राति कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति कोशी प्रदेशको तराई भूभागको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार