भोटेकोशीमा खसेको गाडीमा सवार महिलाको शव भेटियो, चालक अझै बेपत्ता

भोटेकोशीमा जिप खसेर बेपत्ता भएकामध्ये एकजनाको शव भेटिएको छ ।

शनिबार दिउँसो सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका- ६ स्थित सुनकोशी जलविद्युत केन्द्रको ड्याम साइट नजिकै महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय बाह्रविसेका इन्स्पेक्टर सुमेश पाण्डेले जानकारी दिए ।

शव भेटिएको स्थान दुर्घटनास्थलबाट अन्दाजी १५ किलोमिटरभन्दा तल रहेको इन्स्पेक्टर पाण्डेले बताए ।

स्थानीयले शव देखिएको खबर गरेपछि पुगेको प्रहरीले उक्त शव शुक्रबार भोटेकोशीमा खसेको गाडीमा सवार बाह्रबिसे नगरपालिका-९ बस्ने ३६ वर्षीया सुन्तली भनिने सुनिता तामाङ नै रहेको खुलेको थियो ।

शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल बाह्रबिसे लगिएको इन्स्पेक्टर पाण्डेले जानकारी दिए । स्थानीयको सहयोगमा प्रहरीले लिएको जानकारी अनुसार, बोलेरो चालक भोटेकोसी गाउँपालिका–५ बस्ने अन्दाजी ३८ वर्षीय सानु शेर्पा हुन् । शेर्पालाई भने फेला परेका छैनन् ।

उनको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोली भोलि पुग्ने र खोजी सुरू गरिने बताइएको छ । पानी परेकाले पनि खोजीमा कठीन भएको इन्स्पेक्टर पाण्डेले जानकारी दिए ।

शुक्रबार दिउँसो बा २० च २१८५ नम्बरको बोलेरो गाडी बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरण्डा टोलस्थित सडकबाट गाडी भोटेकोशी नदीमा खसेको थियो ।

उक्त गाडी शुक्रबार साँझ पौने ७ बजे नदीबाट क्रेनको सहायताले निकालिएको थियो । बोलेरोमा दुई जना मात्रै रहेको छ । शुक्रबार दिउँसो स्थानीयले नदीमा गाडीको टायर देखिएपछि प्रहरीलाई खबर गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार