पलेशालाई पोखरामा महानगर र गण्डकी प्रदेशको

पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाउने तेक्वान्दो खेलाडी पलेशा गोवर्धन गण्डकी प्रदेशको राजधानी पोखरामा नगदसहित सम्मानित भएकी छन् । आइतबार पोखरामा भएको कार्यक्रममा गण्डकी प्रदेश सरकारले उनलाई नगद एक लाख ५० हजारसहित सम्मान गरेको हो ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उनलाई नगद, सम्मानपत्रसहित सम्मान गरेका छन् । गण्डकी सरकारले खेलाडी गोवर्धनलाई मासिक भत्तासमेत उपलब्ध गराउने भएको छ ।

मुख्यमन्त्री पाण्डेले देशलाई ऐतिहासिक पदक जिताउने गोवर्धनलाई मासिक भत्ता दिने घोषणा गरेका गरे । प्रदेश सरकारले यसअघि ओलम्पिक खेलेका गण्डकीका ९ खेलाडीलाई मासिक भत्ता स्वरुप पाँच हजार दिँदै आएको छ ।

“गत वर्षदेखि हामीले ओलम्पिकमा भाग लिएका गण्डकीका खेलाडीलाई मासिक प्रोत्साहन सहयोग स्वरुप भत्ताको व्यवस्था गरेका छौँ,” उनले भने, “प्रदेशभित्रका खेलाडीलाई दिने भनेर गत वर्षबाट सुरु गरेको जुन मासिक भत्ता छ । भाग लिने खेलाडीलाई दिएका थियौं । पदक नै ल्याउन सफल भएकाले प्रदेशबाहिरको भएता पनि पलेशा गोवर्धनलाई दिने घोषणा गर्दछु ।”

सोही समारोहमा पोखरा महानगरपालिकाले खेलाडी गोवर्धनलाई दुई लाख २२ हजार दुई सय २२ र जिल्ला तेक्वान्दो सङ्घ कास्कीले ५० हजार एक सय ५५ रुपैयाँसहित सम्मान गरे । पोखरा महानगरका प्रमुख धनराज आचार्यले उनलाई महानगरको तर्फबाट सम्मान गरेका हुन् । कार्यक्रम आयोजक गण्डकी प्रदेश तेक्वादो सङ्घका अध्यक्ष जगनबहादुर गुरुङले पनि गोबर्धनलाई संस्थाको तर्फबाट सम्मान गरेका छन् ।

खेलाडी गोवर्धनले सम्मानले ऊर्जा थपिएको जनाउँदै सबैप्रति आभार प्रकट गरिन् । तेक्वान्दो सजिलो खेल नभएको उल्लेख गर्दै उनले कडा परिश्रम, समय व्यवस्थापन र सबैको साथले सफलता हात परेको उनको भनाइ छ । “म सधैं सफल भएको छैन, म सुपर हिरो पनि होइन,” उनले भनिन्, “असफलता पनि सफलताकै भाग हो । मेहनत, समय व्यवस्थापन र सबैको साथले यहाँ आइपुगेको छु ।”

पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन् । काठमाडौंकी स्थायी बासिन्दा उनी अहिले चीनमा इन्जिनियरिङ अध्ययन गर्दै छिन् । कार्यक्रममा गोवर्धनसँगै उनका प्रशिक्षक कविराज नेगी लामा र टिम म्यानेजर रामचन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार